प्रेस युनियनको ५४ जिल्लामा अधिवेशन सम्पन्न

Enepal Patra Pvt. Ltd. , ६३६  पटक हेरिएको

काठमाडौँ, ५ माघ ९रासस० ः नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनका लागि ५४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

मङ्सिर अन्तिम साता केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मिति तोके पनि निर्धारित समयमा महाधिवेशन हुन सकेको छैन । जिल्ला र प्रतिष्ठान गरी कुल ८४ शाखा रहेको युनियनमा जम्मा ५४ जिल्लाको अधिवेशन सम्पन्न भएको हो । तीमध्ये बारा र दैलेखमा उद्घाटनमात्र भएको र नेतृत्व चाँडै नै चयन हुनेछ ।

कुल ७३ जिल्लामा शाखा रहेको युनियनको कैलालीको लम्की र काठमाडौँको साँखुमा दुईवटा उपशाखा रहेको छ भने डोल्पा, मुस्ताङमा अहिलेसम्म पनि शाखा स्थापना भएको छैन ।

प्रदेश नं १ को सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ, प्रदेश नं २ को महोत्तरी, प्रदेश नं ३ को सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, काठमाडौँ र रसुवा, प्रदेश नं ४ को लमजुङ, तनहुँ र मनाङ, प्रदेश नं ५ मा बाँके, प्रदेश नं ६ हुम्ला र सुर्खेत तथा प्रदेश नं ७ मा अछाम र कञ्चनपुरको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले माघ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने जानकारी दिनुभयो । प्रेस युनियन संविधानको मर्म र भावनाअनुसार पहिलोपटक प्रदेश अधिवेशन गर्न गइरहेकाले केन्द्रीय समितिको बैठक बसेर प्रदेश र केन्द्रको अधिवेशन सम्पन्न गर्ने महासचिव शिवाकोटीले बताउनुभयो ।

प्रकाशित मिति: २०१९-०१-१९ , समय : २०:१५:३८ , ५ वर्ष अगाडि