प्रदेश सभा सदस्य खातुनको पद धरापमा

Enepal Patra Pvt. Ltd. , ६४२  पटक हेरिएको

विराटनगर, ११ माघ । प्रदेश नं. १ को प्रदेशसभाकी सांसद गुलेफुन खातुनको पद धरापमा परेको छ । खातुन तत्कालिन नेकपा एमालेबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो । सरकारी कागजात छाप किर्ते जालसाजी मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालतले सदर गरेपछि खातुनको पद धरापमा परेको हो ।

जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते नै सो मुद्दामा फैसला गरी कसुर ठहर गरेको थियो । त्यसपछि खातुनले जिल्लाको आदेश विरूद्ध उच्च अदालत विराटनगरमा ०७४ माघ ३० गते पुनरावेदन गर्नु भएको थियो । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको संयुक्त इजलासले जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै गत पुस ९ गते फैसला सुनाएको हो ।

उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरेपछि सांसद पदमा बहाल रहेकी खातुन फौजदारी अभियोगमा दोषी ठहर हुनु भएको छ । सरकारी छाप किर्ते अभियोगमा दोषी ठहर भएपछि उहाँ माथि फौजदारी अपराध संहिता अन्तरगत कानुनी कारवाही हुने व्यवस्था छ ।

प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उल्लेख भएको उम्मेदवारको अयोग्यता सम्बन्धी व्यवस्थामा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अभियोग प्रमाणित भएको व्यक्ति अयोग्य हुने उल्लेख छ । प्रदेशसभाको सदस्यमा निर्वाचित व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा पदबाट मुक्त हुने सोही ऐनको दफा १६ मा व्यवस्था छ ।

यसैबीच वादी नेपाल सरकारको तर्फबाट दायर मुद्दामा दोषी ठहर हुनु भएकी खातुन फरार हुनुहुन्छ । खातुन उच्च अदालतको आदेश लगत्तै फरार भएको बताइएको छ । बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि उहाँ मतदान गर्न जानु भएन । कटहरी गाउँपालिका (साविक कदमाहा गाविस–२) निवासी खातुनका विरूद्ध ०७३ असार २८ गते जिल्ला अदालत मोरङमा सरकारी कागज छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । तत्कालिन जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले खातुनलाई दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति: २०२०-०१-२५ , समय : २०:३९:३६ , ४ वर्ष अगाडि