Enepal Patra Pvt. Ltd. , ० पटक हेरिएको
शेरबहादुर थापा
सुर्खेत, ५ असोज । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरेको कर्मचारी सरुवामा भाँडभैलो देखिएको छ ।
सत्ता फेरिएसँगै शक्तिमा आएका केहि कर्मचारीको सरुवा अन्तै भएको भएपनि सोही ठाउँमा अड्डा जमाएर बस्ने वातावरण मिलेको छ भने कुनै स्थानमा दुई/दुई कर्मचारी एकै दरवन्दीमा खटाएको पाइएको हो ।
उदाहरण १ः
वागवानी विकास समूह अन्र्तगतका मुकुन्द शर्माको सरुवा रुकुम पश्चिम कृषि विकास कार्यालयमा भएको थियो । उनको स्थानमा अध्ययन विदामा रहेका विरेन्द्र अधिकारी अध्ययन विदामा रहेका छन् । विधिअनुसार अधिकारीको सरुवा फिर्ता गरिनुपथ्र्यो, त्यो भएन ।
यता, मन्त्रालयबाट बाहिर नगएका शर्मा हाल मुख्यमन्त्री मंगलबहादुर शाहीको निजी सचिवको रुपमा क्रियाशिल रहँदा उनको स्थानमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा जुम्लाबाट राज्यलक्ष्मी खत्रीलाई ल्याइएको स्रोतले बतायो ।
उदाहरणः २
डा. भीम तिमिल्सेना डोल्पा भेटरीनरीमा कार्यरत थिए । उनको सरुवा पशु अस्पताल सुर्खेतमा गरिएको छ । पशु अस्पताल सुर्खेतमा हाल डा. साजन रोकाय कार्यरत रहेका छन् ।
उदाहरणः ३
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मातहतमा रहेका विभिन्न आयोजनाका कार्यालय प्रमूखको काज फिर्ता गरिसकेको छ ।
जस्तो, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम (आरएचभीएपी) सुर्खेत प्रमूख बखत खड्का, जाजरकोट प्रमूख यामबहादुर राना र जुम्ला प्रमूख सन्तोष भारतीको काज फिर्ता भएको लामो समय भइसकेको छ । तर मन्त्रालयले हालसम्म रिक्त रहेका कार्यालय प्रमूख भने उठाएको छैन । स्रोतका अनुसार आफू निकटका कर्मचारीको खोजी सरकारले गरिरहेको र उपयुक्त समयमा कर्मचारी पठाउने तयारी सुरु गरेको हो ।
उदाहरणः ४
रुकुम पश्चिममा रहेको कृषि विकास कार्यालयमा माटो समूह छैन । त्यहाँ माटो समूहको दरवन्दी नै नभएका अमृता खड्कालाई काज सरुवा गरिएको छ, तर त्यहाँ काजमा कामगर्दै आइरहेका वागवानी समूह अन्र्तगत पाँचौँ तहका हिक्मत राज गिरीको काज फिर्ता गरि उनलाई दैलेख वागवानीमा सरुवा गरिएको छ ।
उदाहरणः ५
तिलबहादुर राना कृषि अधिकृत हुन । उनी छैठौँ तहमा मन्त्रालयमा दरवन्दीमा रहेका थिए भने उनी आरएचभीएपी जाजरकोटमा काजमा खटाइएका थिए । उनलाई कृषि विकास कार्यालय जाजरकोटमा सरुवा गरिएको छ । सोही पदमा ललितजंग थापा कार्यरत रहेका छन् । तर त्यहाँ एकै पदमा दुई कर्मचारी पठाउँदा मन्त्रालयका अन्य कर्मचारी भने ट्वाल्ल परेका छन् ।
यी माथिका केहि उदाहरण मात्रै हुन । कर्णाली प्रदेश सरकारको यो मन्त्रालयबाट भएका सरुवामा राजनीतिक हस्तक्षेप भएको, आफ्नालाई मनलाग्दी सरुवा मागेकै स्थानमा दिलाइएको जस्ता आरोप कर्मचारीले लगाउने गरेका छन् ।
‘यो भनेको बलमिच्याई नै हो । एकै दरवन्दीमा दुई जनालाई पठाउने, दरवन्दी नै नभएको स्थानमा कर्मचारीको सरुवा गर्ने कार्य विधि, प्रक्रिया र मापदण्ड विपरित हो,’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारी भन्छन्, ‘यसले सरकार फेरिएसँगै राजनीतिक रंगका आधारमा पुनः कर्मचारी सरुवा गर्न थालिएको संकेत गर्दछ । यसले गर्दा अधिकांश कर्मचारी रुष्ट बनेका छन् । यहि कारण पनि मन्त्रालयको कतै कार्यसम्पादन कम हुने त होईन भन्ने आशंका बढन थालेको छ ।’
यता, मन्त्रालयका प्रशासन शाखा प्रमूख सुनिल लिम्बुले केहि कर्मचारी साथीहरु सरुवामा सोचेजस्तो नभएपछि रुष्ट हुनु स्वभाविक रहेको बताउँछन् ।
‘हामीले नीति संगत तरिकाले सरुवा गरेका छौँ,’ उनले दावी गरे, ‘कस्लाई राजनीतिक आधारमा प्रतिशोध साँध्ने र सरुवा गर्ने कार्य भएको छैन । त्यसको जिम्मा म लिन्छु ।’
प्रकाशित मिति: २०२६-०९-२१ , समय : ०९:३७:५० , ५८ मिनेटutes अगाडि