निरोज ढकाल , ६ पटक हेरिएको
मोरङ -१८, भदौ। बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय र अन्य उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। नेपाली सेनाले हवाई साधनमार्फत आज भाद्र १८ गते बिहान ११ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार गरेको जनाएको छ।
रसुवास्थित लाङटाङ हाइड्रोमा विदेशी विज्ञसहित २५ जनाको संयुक्त टोलीले टनेलभित्र करिब १५० मिटर प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी कार्य गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि विदेशी विज्ञसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्साभेटर प्रयोग गरी टनेलको आउटलेटमा भरिएको लेदो तथा माटो हटाउने काम गरिरहेको छ। आउटलेटको होललाई ठूलो बनाउन क्राउन क्षेत्रमा ब्लास्टिङ गरी सफा गर्ने कार्यसमेत भइरहेको छ।
यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र निवाससम्म पुग्ने बाटो निर्माण तथा माटो पन्छाउने काम गरिरहेको छ।

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा समेत नेपाली सेनाको टोलीले पैदल गस्ती गर्दै स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउनुका साथै आवश्यक उद्धार र स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी छ।
स्याफ्रुवेशी क्षेत्रमा पनि नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ। नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा डाक्टर अधिकृतहरूले सम्भावित संक्रमण फैलिन नदिन सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
यसैबीच, प्रधान सेनापति महारथी अशोक राज सिग्देलले त्रिशूली तथा टनेललगायत प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनासहित सम्बद्ध निकायले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्। उनले सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन्।

प्रकाशित मिति: २०२६-०९-०३ , समय : १५:३९:१२ , १ घन्टा अगाडि