ईनेपालपत्र संबाददाता , ४ पटक हेरिएको
लेटाङ, ११ भदौ। रसुवा जिल्ला तथा आसपासका क्षेत्रमा हिजो बिहान अचानक आएको बाढीका कारण मोरङको लेटाङ नगरपालिका–६, लामिटारका राजकुमार चेम्जोङका २ छोरि १ नाति र उहाँकी सम्धिनि सहित एकै परिवारका चार जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा लेटाङ -६ निवासी राजकुमार चेम्जोङका छोरीहरू मेघा चेम्जोङ र सोना चेम्जोङ, सोनाका छोरा पासाङ तामाङ, सोनाकी सासुआमा देविमाया तामाङ तथा रहेका छन्।
परिवारका अनुसार उनीहरू रसुवा बजारमा रहेको परिवारको होटल तथा कपडा पसलमा रहेका बेला अचानक आएको बाढी बजार क्षेत्रमा प्रवेश गरेपछि उनीहरूसँग सम्पर्क टुटेको हो। घटनाका क्रममा सोनाका ससुरा भुवन सिंह तामाङलाई बाढीको तीव्र भेलले बाहिरतर्फ फ्याँके पनि उहाँ भने सकुशल रहनु भएको परिवार स्रोतले जनाएको छ। तर मेघा चेम्जोङ, सोना चेम्जोङ, पासाङ तामाङऽ देविमाया तामाङको अवस्था हालसम्म अज्ञात रहेको र उनीहरूसँग कुनै सम्पर्क हुन नसकेको बताइएको छ।
अचानक आएको विनाशकारी बाढीपछि चारै जना बेपत्ता हुँदा परिवारजन गम्भीर चिन्तामा परेका छन्। परिवारले सम्बन्धित सुरक्षा निकाय, स्थानीयवासी तथा सरोकारवाला सबैलाई उनीहरूको खोजी तथा उद्धारमा सहयोग गरिदिन हार्दिक आग्रह गरेको छ।
कसैले उनीहरूलाई कतै देखेमा वा उनीहरूका सम्बन्धमा कुनै जानकारी प्राप्त गरेमा नजिकको प्रहरी कार्यालय वा ९८१३४२७९१२, ९८६११४४५०९ र ९८६९८१६७८१ नम्बरमा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ। सम्पर्कविहीन चारै जनाको शीघ्र खोजी गरी सकुशल उद्धार होस् भन्ने कामनासहित परिवारले सबैसँग सहयोगको अपिल गरेको छ।
प्रकाशित मिति: २०२६-०८-२७ , समय : १२:२२:०७ , ३९ मिनेटutes अगाडि