कन्याममा पर्यटकको भीड, पर्यटन विकासका लागि सडक विस्तार जारी

निरोज ढकाल , १३  पटक हेरिएको

इलाम–३, साउन। इलामको सूर्योदय नगरपालिका–२,स्थित कन्याम यतिबेला आन्तरिक तथा भारतीय पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। हरियाली चिया बगान, चिसो मौसम, रमणीय दृश्य, घोडा सवारी,स्काई वाक तथा विभिन्न पर्यटकीय गतिविधिको आनन्द लिन दैनिक हजारौँको सङ्ख्यामा पर्यटक कन्याम पुग्ने गरेका छन्। जेन्जी आन्दोलनको प्रभावले घटेको पर्यटकको चाप पछिल्लो समय बढ्दै गएको छ।

 

वर्षको १२ै महिना पर्यटकको घुइँचो लाग्ने कन्याममा नेपालका पूर्वदेखि पश्चिमसम्मका पर्यटकका साथै भारतका उत्तर प्रदेश, सिक्किम लगायत विभिन्न क्षेत्रबाट पनि ठूलो संख्यामा पर्यटक यहाँ घुम्न आउने गरेका छन्। सार्वजनिक बिदा तथा अनुकूल मौसमका बेला पर्यटकको संख्या अझ बढी हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्।

 

बढ्दो पर्यटक चापलाई व्यवस्थित गर्न सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालयले मेची राजमार्गअन्तर्गत कन्यामको करिब चार किलोमिटर सडक विस्तार गर्ने काम अघि बढाउन पत्र निकालेको एक होटल व्यवसायीले लेटाङको आवाज लाई जानकारी दिएका छन्। सडकलाई मापदण्डअनुसार दुवैतर्फ १५–१५ मिटरसम्म फराकिलो बनाउने योजना कार्यान्वयनमा रहेको छ। यससँगै मदन भण्डारी राजमार्ग सञ्चालनमा आएपछि नेपालको पश्चिमी भेगबाट कन्यामसम्म पुग्न अझ सहज र छिटो हुने अपेक्षा गरिएको छ। सडक विस्तारले यातायात सहज बनाउने, ट्राफिक व्यवस्थापनमा सुधार आउने र पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

 

कन्याम पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। झापाको चारआली तथा भारतको पशुपतिनगर नाकाबाट मेची राजमार्ग हुँदै यहाँ पुग्न सहज भएकाले विशेषगरी सार्वजनिक बिदाका दिन उल्लेख्य रूपमा पर्यटकको भीड लाग्ने गरेको छ। आन्तरिक तथा बाह्य धेरै पर्यटकले झापा–कन्याम–फिक्कल–इलाम सम्मको यात्रा गर्ने गरेका छन्। स्थानीय होटल, रेस्टुरेन्ट, चिया पसल, छुर्पी पसल तथा अन्य साना व्यवसायमा समेत पर्यटकको आगमनले सकारात्मक प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।

 

स्थानीयका अनुसार कन्यामको मौसम परिवर्तन भैरहने भए पनि पूर्ण रूपमा सफा दृश्य देखिने दिन वर्षमा करिब ६० दिन मात्र हुने गरेको त्यहाँका स्थानीयवासीले बताएका छन्। यही प्राकृतिक विशेषता, कुहिरोले ढाकिएको चिया बगान र शीतल वातावरणले पर्यटकलाई बारम्बार आकर्षित गर्ने गरेको छ।

 

सडक विस्तारसँगै कन्यामको ऐतिहासिक चिया बगान, प्राकृतिक सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउनु पनि उत्तिकै आवश्यक छ। स्थानीयवासी तथा सरोकारवालाले पर्यटन विकास र प्राकृतिक सम्पदाको संरक्षणलाई सँगसँगै अघि बढाउन सके कन्यामले पुर्वी नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा अझ बलियो पहिचान बनाउन सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति: २०२६-०७-१९ , समय : ०६:५५:५४ , ६ घन्टा अगाडि