निरोज ढकाल , ७ पटक हेरिएको
कान्तिपुर पब्लिकेशन, अनलाइनखबर तथा हिमालय टेलिभिजनका कार्यालयअगाडि सोमबार बिहान शंकास्पद रूपमा गाडी पार्किङ गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
बिहान करिब ७:३० बजेतिर तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर तथा मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको प्रवेशद्वार नजिक निजी नम्बर प्लेटका गाडी पार्किङ गरिएका थिए। गाडीका कारण कार्यालयको आवतजावत प्रभावित भएको जनाइएको छ।
कान्तिपुरको कार्यालयमा गेट नै अवरुद्ध हुने गरी गाडी रोकिएपछि पत्रकार तथा कर्मचारीलाई सवारीसहित आउजाउ गर्न कठिन भएको थियो। टेलिभिजनको प्रसारण तथा रिपोर्टिङका लागि प्रयोग हुने सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न नसकिएको बताइएको छ।
अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयअगाडि पनि गेटको ठूलो भाग ढाक्ने गरी गाडी रोकिएको थियो। गाडी कसले, किन र कुन उद्देश्यले त्यहाँ छाडेको हो भन्ने खुलेको छैन।
सम्बन्धित मिडिया हाउसहरूले घटनाबारे नेपाल प्रहरीलाई जानकारी गराएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको बताए।
उनका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ र पार्किङ गरिएका गाडी हटाउने प्रक्रिया पनि अघि बढाइएको छ। प्रहरीले कान्तिपुर कार्यालयअगाडि पार्किङ गरिएको एउटा गाडीमा ह्विललकसमेत लगाएको छ।
यस घटनाको उद्देश्य वा कुनै विशेष कारण रहेको हो वा होइन भन्ने विषयमा हालसम्म प्रहरीले कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन। केही व्यक्तिहरूले यसलाई हालैका समाचार सामग्रीसँग जोडेर विभिन्न दाबी गरेका भए पनि ती दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
प्रकाशित मिति: २०२६-०७-१३ , समय : १५:४७:५९ , २ घन्टा अगाडि