दिपेश रोक्का , १२ पटक हेरिएको
काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङ नेतृत्वको कार्यसमितिले कार्यकालको एक वर्ष पूरा भएको अवसरमा आफ्नो उपलब्धिको विवरण सार्वजनिक गरेको छ। संघले व्यवसायीको हकहित संरक्षण, श्रमिकमैत्री नीतिगत सुधार तथा वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन उल्लेखनीय काम गरेको जनाएको छ।
संघद्वारा जारी विज्ञप्तिअनुसार लामो समयदेखि नवीकरण हुन नसकेको संस्थाको कानुनी प्रक्रिया पूरा गरी नवीकरण गरिएको छ। नवीकरणका क्रममा लागेको करिब ८ लाख रुपैयाँ जरिवाना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहयोगमा व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ।
कार्यसमितिले श्रम तथा व्यवसायी हितविपरीत मानिएको ‘जिट्को (JITCO)’ संयन्त्र तथा जापानको एसएसडब्लू (SSW) प्रणालीअन्तर्गत सिर्जना गरिएको सिन्डिकेट अन्त्य गर्न सफल भएको दाबी गरेको छ। त्यस्तै, मलेसियामा लागू गर्ने तयारी गरिएको ई–मोडेल सिन्डिकेट प्रयासलाई पनि विफल बनाइएको संघको भनाइ छ।
वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा तयार गरी सम्बन्धित निकायमा पेश गरिएको संघले जनाएको छ। व्यवसायीमाथि थप भार पर्ने वार्षिक १०० जना कामदार पठाउनुपर्ने बाध्यात्मक व्यवस्था खारेज गराउन समेत पहल गरिएको उल्लेख गरिएको छ।
त्यसैगरी, वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ अन्तर्गत पर्याप्त प्रमाणबिना एकमुष्ट १ लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्थामा संशोधनका लागि पहल गरिएको संघले जनाएको छ। यसबाट वास्तविक पीडितको पहिचानका आधारमा मात्रै कारबाही हुने व्यवस्था सुनिश्चित हुने विश्वास व्यक्त गरिएको छ।
संघका अनुसार श्रमिकमाथि अतिरिक्त आर्थिक भार पर्ने गरी बढाइएको मेडिकल शुल्क फिर्ता गराउन पनि सफलता प्राप्त भएको छ। साथै, जापानको रोजगारी बजार विस्तार गर्ने उद्देश्यले Japan Agency Association सँगको सहकार्यमा नेपालमै ‘तेस्रो जापान जब फेयर’ आयोजना गर्ने सम्झौता सम्पन्न गरिएको छ।
यस अवधिमा वैधानिक सेवा शुल्क (सर्भिस चार्ज) निर्धारण प्रक्रियालाई अन्तिम चरणमा पुर्याइएको, संस्थाको आन्तरिक संरचनामा सुधार गरिएको तथा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने कामसमेत गरिएको संघले जनाएको छ।
अध्यक्ष गुरुङले वैदेशिक रोजगार क्षेत्रलाई श्रमिकमैत्री, व्यवसायमैत्री र पारदर्शी बनाउने अभियान आगामी दिनमा पनि निरन्तर अघि बढाइने बताएका छन्। उनका अनुसार श्रमिक, व्यवसायी र सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै क्षेत्रगत सुधारलाई निरन्तरता दिइनेछ।
प्रकाशित मिति: २०२६-०६-०५ , समय : १४:०९:५७ , २ घन्टा अगाडि