निरोज ढकाल , ८ पटक हेरिएको
लेटाङ, १९ जेठ। लेटाङ नगरपालिकाको आयोजनामा तथा सुपारी उत्पादन किसान संघ लेटाङ नगर कमिटीको समन्वयमा व्यावसायिक सुपारी खेती प्रविधिसम्बन्धी दुईदिने तालिम सोमबारदेखि सुरु भएको छ। जेठ १९ र २० गतेसम्म सञ्चालन हुने तालिम लेटाङ–४ स्थित उद्धार केन्द्रमा भइरहेको छ।
तालिममा लेटाङ नगरपालिका वडा नं. २, ३, ४, ५ र ६ का सुपारी किसानहरूको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख लावतीले कृषकलाई आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। सुपारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने, अन्य खेतीको तुलनामा श्रम कम लाग्ने भएकाले पछिल्लो समय किसानहरूको आकर्षण यसतर्फ बढ्दै गएको उनको भनाइ थियो।
कार्यक्रममा अर्को प्रसङ्ग उठाउँदै प्रमुख लावतीले बिरान क्षेत्रमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए। हाल त्यहाँ रहेको अस्पताललाई लेटाङ–५ मा स्थानान्तरण गर्ने योजना रहेको बताउँदै उनले बिरानमै नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि समेत तयारी अगाडि बढाइएको बताए। सुपारी उत्पादन किसान संघ लेटाङ नगर कमिटीका अध्यक्ष यमकान्त कोइराला (रमेश)को अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष लिलाकण्ठ तिवारीको समेत उपस्थिति रहेको थियो। तालिममा कृषि विज्ञ डा. शरणकुमार रिजालले सुपारी खेतीको आधुनिक प्रविधि, व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी प्रशिक्षण प्रदान गरिरहेका छन्।
प्रकाशित मिति: २०२६-०६-०२ , समय : २०:२८:१५ , १ घन्टा अगाडि