जमिन्दार शेखलालसँग ६ धुर जमीन

Enepal Patra Pvt. Ltd. , १३९८  पटक हेरिएको

हरि कोइराला
उर्लाबारी , ४ माघ । कुनै समय २५ बिगाहा जग्गाका मालिक शेखलाल राजवंशी यतिबेला अर्काको जग्गामा तरकारी खेती गरिरहनु भएको छ । सुन्दा पत्याउन गाह्रो । उहाँसँग अहिले जग्गाका नाममा उर्लाबारीमा ६ धुर जमीन छ । त्यही जग्गामा सानो घर । श्रीमती, छोरा बुहारी र नाति नातिना सबै त्यहीँ अटाउनु भएको छ ।
मोरङको साविक गोविन्दपुर ४ सुनवर्सीका जमिन्दार मध्ये शेखलाल पनि एक हुनुहन्थ्यो । १२÷१५ हल गोरु , काम गर्ने लाठ्ठे,पाखुरे उति नै । खेती लगाउँदा होस या उठाउँदा शेखलालसँग काम माग्ने र अधियाँ ठेक्का बुझाउँनेको ताँती हुन्थ्यो । अधियाँर र ठेक्का गर्ने सबैलाई उहाँ ठम्याउन पनि सक्नु हुन्नथियो । बक्राहा खोलामा बग्ने पानीले उहाँलाई बाह्रै महिना खेती लगाउन समस्या हुन्न थियो । तर, २०१५ सालमा बक्राहा खोलामा आएको बाढीले उहाँको २÷३ विगाहा जमीन एकै रातमा बगर बनाइदियो ।
२०१५ सालमा खोला पश्चिम मोडिएपछि बक्राहाले नै उहाँलाई उठिबास लगायो । २०२६ साल आइपुग्दा उहाँले त्यो ठाउँ नै छोडेर हिड्नु प¥यो । विगत सम्झदै उहाँले भन्नुभयो – बक्राहाले मलाई मात्र होइन, धेरै आदिवासीलाई बसाई हिडायो । उसबेला खोला तटबन्धको कुनै योजना थिएन । जता खोला मोडियो,त्यताका मानिस बसाई हिड्ने र पहिले खोला कुदेको ठाउँ दर्ता गर्दै बस्ने चलन नै थियो । उहाँ भन्नुहुन्छ– अहिले पनि बाकसमा धनी पुर्जा छ । मेरो खेतबाट खोलो कुदिरहेको छ ।
अहिले ७६ वर्ष पुग्नु भएका शेखलाल जमिन्दारबाट सुकुम्बासी बने पनि निरास हुनुहुन्न । बसेर खाने उमेरमा पनि उहाँ तरकारी खेती गर्नुहुन्छ । तरकारी खेती गरेकै पैसाले ६ धुर जमीन किनेर उहाँले घर पनि बनाइसक्नु भएको छ । तरकारी खेती मात्र होइन, उहाँ भुजा बनाएर पनि बिक्री गर्नुहुन्छ । उहाँकी श्रीमती भुजाका डल्ला, प्याजी, ढुङ्ग्री बनाएर बिक्री गर्नुहुन्छ ।
उहाँमा धामी ज्ञान पनि छ । साना नानीहरूलाई फुकफाक समेत गर्ने उसबेलाका जमीन्दार शेखलाल ८० वर्ष पुग्नै लाग्दा बिहान बेलुकाको जाउलोका लागि संघर्ष गरिरहनु भएको छ ।

प्रकाशित मिति: २०२०-०१-१८ , समय : २०:२३:०९ , ४ वर्ष अगाडि