मिनाक्क्षी राई , १० पटक हेरिएको
खोटाङ, ४ बैशाख । खोटाङको दिक्तेल बजारमा पहिलोपटक ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ शुक्रबारदेखि सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा जलवायु परिवर्तनको असर न्यूनीकरण, लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन गरिएको हो । सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने सम्मेलनमा नेपालसहित भारत, भुटान, बङ्गलादेश, अमेरिका, अष्ट्रेलिया र जर्मनीका प्रतिनिधिको सहभागिता रहेको छ ।
तीन दिनसम्म चल्ने सम्मेलन नगरपालिकासहित कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको हो । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार जलवायु परिवर्तनका कारण संकटमा परेका वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि नीति निर्माणमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सम्मेलनमा विभिन्न देशका विज्ञहरूले १० वटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सम्मेलनको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र नाष्टका उपकुलपति डा. दिलीप सुब्बाले संयुक्त रूपमा गर्नुभएको हो । कार्यक्रमको अवसरमा र्याली, सांस्कृतिक झाँकी, रेडपाण्डा संरक्षणसम्बन्धी सडक नाटक तथा बाँसबाट बनाइएका कलात्मक चित्र प्रदर्शनी आकर्षणको केन्द्र बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनले होटल व्यवसायसमेत फस्टाएको व्यवसायीहरुले बताएका छन् ।
रेडपाण्डा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सञ्चालन गरिएको छ । विश्वको लोपोन्मुख वन्यजन्तुमा पर्ने खोटाङमा रहेको पुष्टि भएपछि ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सुरु गरिएको हो ।
सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग नजिकको जङ्गलमा रेडपाण्डा पाइने भएकाले ‘मुन्दुम ट्रेल–रेडपाण्डा–थार रुट’ पदमार्ग प्रवद्र्धन गर्ने नगरपालिकाको योजना छ । किरात समुदायको उद्गमस्थल हलेसीस्थित तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको छ ।
प्रकाशित मिति: २०२६-०४-१७ , समय : २३:०३:०४ , २ घन्टा अगाडि