निरोज ढकाल , ८ पटक हेरिएको
‘भीआईपी मुभमेन्ट’का नाममा नागरिकलाई सास्ती नदिने, गृहमन्त्री गुरुङको निर्देशन
काठमाडौँ । नवनियुक्त गृहमन्त्री Sudan Gurung ले ‘भीआईपी मुभमेन्ट’का नाममा सर्वसाधारणले दुःख पाउने अवस्था अन्त्य गर्न स्पष्ट निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्नेमा जोड दिए। “नागरिक तहमा ‘भीआईपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ, अब यस्तो कार्य नगर्न सबै मन्त्रीलाई आग्रह गर्छु,” उनले भने।
जेन–जी आन्दोलनका अगुवा समेत रहेका गुरुङले मन्त्रीहरूको अनावश्यक सुविधा घटाउनुपर्ने र सवारी आवागमनका क्रममा नागरिकलाई हुने सास्ती अन्त्य गर्नुपर्ने बताए। उनले सांसदको सुविधा जनतालाई समर्पण गर्ने घोषणा गर्दै आफू निजी सवारी प्रयोग गरेर मन्त्रालयबाट बाहिरिएको उदाहरण पनि प्रस्तुत गरे।
पदबहालीसँगै उनले सेवा प्रवाहलाई सरल बनाउन एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेका छन्। साथै, जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेहरूका लागि राज्यका तर्फबाट सुविधा सुनिश्चित गर्न विभिन्न मन्त्रालयका प्रतिनिधि समेटिएको कार्यदल गठन गर्ने जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङको यस कदमलाई प्रशासनिक सुधार र जनमुखी शासनतर्फको संकेतका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २०२६-०३-२७ , समय : १७:३२:४७ , १ घन्टा अगाडि