प्रशान्त निराैला , ४ पटक हेरिएको
उर्लाबारी, २४ माघ । नेपाली कांग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले आफ्नो राजनीतिक प्रतिस्पर्धा कुनै व्यक्ति वा दलसँग नभई क्षेत्रले भोग्दै आएका समस्यासँग रहेको स्पष्ट पारेका छन्। उनले राजनीतिलाई सत्ता प्राप्तिको साधनभन्दा माथि उठेर जनजीवनसँग प्रत्यक्ष जोडिएको सेवा र जिम्मेवारीको रूपमा बुझ्नुपर्ने धारणा राखेका छन्।
मिक्लाजुङ गाउँपालिका–स्थित रमितेमा आयोजित चुनावी भेटघाट कार्यक्रममा सम्बोधन गर्दै फागोले भने, “मेरो प्रतिस्पर्धा भनेको नै यस क्षेत्रका समस्या हुन्—अधुरा पूर्वाधार, बेरोजगारी, शिक्षा र स्वास्थ्यका चुनौतीहरू हुन्।” उनका अनुसार मोरङ–१ का नागरिकले अझै पनि रोजगारी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, आधुनिक कृषि र व्यवस्थित शहरी विकासको अपेक्षा गरिरहेका छन्।
फागोले मोरङ–१ लाई आर्थिक, शैक्षिक र सामाजिक रूपमा सन्तुलित विकासको नमुना क्षेत्र बनाउन सकिने सम्भावना रहेको उल्लेख गरे। तर त्यसका लागि स्पष्ट योजना, इमानदार कार्यान्वयन र दीर्घकालीन सोच आवश्यक रहेको उनको भनाइ थियो। “विकास सडक र भवनले मात्र नापिँदैन, नागरिकको जीवन कति सहज र सुरक्षित भयो भन्ने कुराले विकासको मापन हुन्छ,” उनले भने।
पूर्व जनप्रतिनिधिको अनुभव स्मरण गर्दै फागोले व्यवहारिक राजनीतिमा नीति निर्माणभन्दा कार्यान्वयन नै ठूलो चुनौती हुने बताए। कागजमा आकर्षक देखिने योजनाहरू स्थानीय तहमा पुग्दा अनेक अवरोध देखिने भएकाले अबको राजनीति भाषणमुखी होइन, नतिजामुखी हुनुपर्नेमा उनले जोड दिए।
युवाको वैदेशिक पलायनलाई गम्भीर समस्या ठहर गर्दै फागोले स्थानीय स्तरमै रोजगारी सिर्जना नगरी समग्र विकास सम्भव नहुने बताए। कृषि क्षेत्रमा प्रविधि भित्र्याएर उत्पादन र बजारको सुनिश्चितता गर्न सके युवालाई गाउँमै रोजगारी दिन सकिने उनको धारणा थियो।
स्वास्थ्य र शिक्षाका क्षेत्रमा पहुँचसँगै गुणस्तर मुख्य चुनौती भएको फागोले औँल्याए। “अस्पताल भए पनि सेवा नपाउने, विद्यालय भए पनि गुणस्तरीय शिक्षा नपाउने अवस्था अन्त्य हुनुपर्छ,” उनले भने।
राजनीतिक संस्कारबारे बोल्दै उनले असहिष्णुता, गुटबन्दी र व्यक्तिगत आरोप–प्रत्यारोपले विकासको गतिलाई अवरुद्ध बनाउने बताए। व्यक्तिगत प्रतिस्पर्धाभन्दा साझा लक्ष्यमा केन्द्रित हुन सके मात्र जनताको विश्वास जित्न सकिने उनको भनाइ छ।
नेपाली कांग्रेस संगठनात्मक पुनर्संरचनाको चरणमा रहेको उल्लेख गर्दै फागोले यस प्रक्रियाले पार्टी पंक्तिमा नयाँ ऊर्जा थपेको दाबी गरे।
प्रकाशित मिति: २०२६-०२-०७ , समय : १४:५७:२६ , २ घन्टा अगाडि