ओलीसँग प्रतिस्पर्धा गर्ने बालेनको लक्जरी यात्राः करेन्ट चाउचाउका मालिकको गाडी भाइरल

निरोज ढकाल , ८  पटक हेरिएको

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) महँगो गाडीमा चुनावी प्रचार गर्दै पाथीभरा पुगेपछि चर्चा र आलोचनाको केन्द्रमा आएका छन्। उनले पूर्वी झापाबाट इलाम, पाँचथर हुँदै हिजो ताप्लेजुङको पाथीभरा मन्दिरसम्म यात्रा गरेका हुन्। यो यात्रा चुनावी प्रचारको सिलसिलामा गरिएको बताइएको छ।

 

बालेनले प्रयोग गरेको गाडी बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट हो, जसको मूल्य कम्तीमा दुई करोड रुपैयाँबाट सुरु भई पछिल्लो भेरियन्टमा आठ करोड रुपैयाँसम्म पर्ने बताइन्छ। स्रोतका अनुसार उक्त गाडी करेन्ट चाउचाउका मालिक कमल मालपानीका छोरा नितेश मालपानीको नाममा दर्ता रहेको दाबी गरिएको छ। बालेन हाल यही गाडी प्रयोग गर्दै तेह्रथुम र धनकुटाको बाटो हुँदै झर्दै छन्।

 

करेन्ट चाउचाउ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी पछिल्लो समय रघुनाथ घिमिरेले सम्हाल्दै आएका छन्। घिमिरे यसअघि अर्थ मन्त्रालयमा कार्यरत सुब्बा रहँदा जनार्दन शर्मा अर्थमन्त्री भएका बेला बजेटमा मध्यराति करको दर हेरफेर भएको विवादसँग जोडिएका व्यक्ति हुन्। सिसिटिभी फुटेज ‘मुसाले तार काटेका कारण’ हेर्न नमिल्ने भनिएको उक्त घटनाले त्यसबेला व्यापक चर्चा र आलोचना जन्माएको थियो।

 

महँगो गाडीमा गरिएको बालेनको यो यात्रा मात्रै होइन, उनले लगाएको पहिरन पनि सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ। ‘गरिबको चमेली’ जस्ता गीतलाई र्‍याप शैलीमा प्रस्तुत गरेर चर्चा कमाएका बालेनले लगाएको एडिडास कम्पनीको टेरेक्स ज्याकेटको नेपाली बजार मूल्य करिब ३५ हजार रुपैयाँ पर्ने बताइएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले साधारण जीवनशैलीको सन्देश दिने नेताले यति महँगा साधन र पहिरन प्रयोग गर्नु कत्तिको उचित हो भन्ने प्रश्न उठाएका छन्।

 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा–५ मा प्रतिस्पर्धामा रहेका बालेनको चुनावी शैली, प्रयोग गरिएको गाडी र पहिरनलाई लिएर समर्थक र आलोचकबीच बहस चर्किँदै गएको छ। कतिपयले यसलाई व्यक्तिगत छनोटको विषय मानेका छन् भने कतिपयले जनतामाझ ‘वैकल्पिक राजनीति’ को सन्देश दिने नेताको व्यवहारसँग मेल नखाने टिप्पणी गरिरहेका छन्।

प्रकाशित मिति: २०२६-०१-२३ , समय : १६:५१:२७ , ४ घन्टा अगाडि