ओलि माथि लगाइएको स्थानहद पूर्णतया अनुचित:- पोखरेल

प्रशान्त निराैला , ५२  पटक हेरिएको

काठमान्डौ, २२ मंसिर । नेकपा एमालेभित्र बढिरहेको वैचारिक मतभेदबीच वरिष्ठ उपाध्यक्ष तथा आगामी महाधिवेशनका अध्यक्ष दाबीदार ईश्वर पोखरेल ले पार्टी नेतृत्व र वर्तमान राजनीतिक अवस्थाबारे कडा निष्कर्षसहितको अवधारणापत्र सार्वजनिक गरेका छन्। पार्टीको ११औँ महाधिवेशनमा छलफलका लागि केन्द्रीय कार्यालयमा बुझाइएको उक्त दस्तावेजमा पोखरेलले हाल एमाले भित्र र बाहिर दुवैतर्फबाट चलिरहेको दबाब, अवरोध र हस्तक्षेपप्रति असन्तोष प्रकट गरेका छन्।

पोखरेलले प्रतिनिधिसभा विघटन र त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन देशको संवैधानिक अस्तित्वलाई कम क्षतिमा जोगाइ राख्न खोजिएको आपतकालीन विकल्प थियो भन्ने निष्कर्ष निकालेका छन्। उनका अनुसार, अन्तरिम सरकारलाई चुनाव गराउन सहयोग र दबाब दिनु राजनीतिक बाध्यता थियो, तर त्यसलाई नेतृत्त्व तहमा दोषारोपणको आधार बनाउनु अनुचित छ।

सबैभन्दा महत्वपूर्ण रूपमा, पोखरेलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद (पार्टी गतिविधिमा रोक) पूर्णतया अनुचित, अन्यायपूर्ण र पार्टीको एकता तथा मनोबलविरुद्ध भएको टिप्पणी गर्दै तत्काल फिर्ता गरिनुपर्ने माग गरेका छन्। उनका अनुसार, पार्टीभित्र निष्पक्ष बहस, आलोचना–आत्मआलोचनाको वातावरण बिना एमालेले आफ्नो वैचारिक शक्ति र संगठनात्मक सामर्थ्य बढाउन सक्दैन।

अवधारणापत्रमा पोखरेलले एमालेका गतिविधिमाथि बाह्य प्रभाव र सडक–आन्दोलनमार्फत प्रभाव जमाउने दुष्प्रयासहरू भइरहेको र यसले पार्टीलाई कमजोर बनाउने चेतावनी पनि दिएका छन्। उनका अनुसार, मुलुकको अहिलेको अस्तव्यस्त स्थितिको समाधान प्रतिनिधिसभा पुनःस्थापनाबाट होइन, निष्पक्ष निर्वाचनमार्फत मात्र सम्भव छ। उनले विशेष अवस्थामा मात्र पुनःस्थापनाको विकल्प उपयोग गर्न सकिने उल्लेख गर्दै अहिले त्यो आवश्यक नदेखिएको तर्क राखे।

अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका पोखरेलको यो दस्तावेजले एमालेभित्रको वैचारिक र नेतृत्वीय बहसलाई अझ गहिरो बनाएको छ। अर्कातर्फ, अध्यक्ष ओलीले भने निरन्तर रूपमा प्रतिनिधिसभा पुनःस्थापनालाई नै निकासको मुख्य विकल्प बताइरहेका छन्। यसरी, आगामी महाधिवेशनमा पार्टीको एजेन्डा, नेतृत्व शैली र भविष्यको मार्गचित्रसम्बन्धी बहस थप तासतै गएको छ।

प्रकाशित मिति: २०२५-१२-०८ , समय : २१:५६:३७ , २ दिन अगाडि