राष्ट्रिय भूकम्प सुरक्षा दिवस : न्यून भएको छैन जोखिम

नारद गौतम , ४००  पटक हेरिएको

काठमाडौँ, २ माघ  । नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ ।
आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । नब्बे सालको भूकम्प जाँदा नेपालमा भूकम्प मापन गर्ने उपकरण नै थिएन, बाहिरबाटै मापन गरिएको थियो । संसारमा कमै मात्रामा त्यस्ता उपकरण जडान भएका थिए ।
त्यस भूकम्पमा १५ हजार सात सय मानिसको ज्यान गएको थियो । त्यसमध्ये नेपालमा करिब आठ हजार मानिसको ज्यान गएको थियो । तीमध्ये झन्डै चार हजार मानिसको काठमाडौंँमा मृत्यु भएको थियो । त्यसपछि नेपालमा त्यत्रो ठूलो भूकम्प गएको छैन ।
भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २२ वर्ष अघिदेखि माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउने गरिएको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार ः दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बिहीबार नेपालभर २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै छ ।
नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा भूकम्पीय जोखिमको हिसाबले सबैभन्दा जोखिमपूर्ण क्षेत्र कुन कुन हुन् भनी राखिएको जिज्ञासामा खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भन्नुभयो, “पूरै नेपाल भूकम्पीय जोखिममा छ । कम जोखिम क्षेत्र यो हो भनेर भन्ने ठाउँ नै छैन । हिमालय भनेको नै भूकम्पीय उथलपुथलका कारण बनेको क्षेत्र हो । हाम्रा प्रत्येक ठाउँ जोखिममा छन् । हामी जोखिम क्षेत्रमै बसोबास गर्दै आएका छाँैं । ”
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको निगरानी राख्ने र भूकम्प गएमा त्यसको सूचना सार्वजनिक गर्दै आएको छ । भूकम्पबाट हुने क्षतिको कुरा गर्दा मानव बसोबास भएको क्षेत्रमा बढी क्षति हुन्छ र नभएको ठाउँमा कम हुने गर्छ । मानवीय संरचना र मानवको बस्ती जहाँ बढी हुन्छ, त्यहाँ बढी क्षति हुने जानकारी उहाँले दिनुभयो ।
वि.सं. २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक क्षेत्रलाई केन्द्र बनाएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि ५० हजारभन्दा बढी परकम्प गएका छन् । ठूला भूकम्प भएपछि लामो समयसम्म पनि भूकम्पका धक्काहरू महसुस हुने गर्छन् । त्यसलाई परकम्प भनिन्छ । ठूलो भूकम्प गएपछि बाँकी रहेको शक्ति बाहिरिने क्रममा ससाना अन्य भूकम्प जाने गर्छन् । प्रत्येक परकम्प आफैँमा भूकम्प भएको भनाइ अधिकारीको छ ।
वि.सं. २०७२ को भूकम्पबाट करिब नौ हजार मानिसको मृत्यु र २२ हजार जना घाइते भएका थिए । झन्डै आठ लाख घर क्षति भएका थिए । यसैगरी करिब सात खर्ब रुपियाँको भौतिक क्षति पुगेको थियो ।
भूकम्पको जोखिम बढी भएका ठाउँमा भूकम्प गइरहेको अभिलेखीकरण भएको पाइन्छ । विभिन्न ठाउँमा ५०औँ, सयौँ र हजारौँ वर्षदेखि शक्ति केन्द्रित भएर रहेको हुन्छ र जुनसुकै समयमा पनि ठूलो भूकम्प जाने गरेका छन् । ठूला भूकम्प यति बेला नै जान्छन् भन्ने वैज्ञानिक तथ्याङ्क छैन ।

‘पूर्वतयारीमा विशेष ध्यान दिनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको विपद् न्यूनीकरण र सामना गर्न पूर्वतयारी कार्यमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी सरकारले प्रभावकारी कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।
उहाँले २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा सन्देश दिनुहुँदै समाजको जीवनपद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी रहेको बताउनुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, “जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुःखद अनुभवलाई विस्मृतिमा जान नदिने हाम्रो उद्देश्य छ । ” उहाँले २०७२ सालको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “यतिखेर हामी भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ । पुनःनिर्माण अभियान गन्तव्य नजिकै पुगेको सुसङ्केत गरिरहेको छ । ” उहाँले पुरातात्विक सम्पदाहरूको परम्परागत मौलिकता कायम राख्दै दिगो तथा भूकम्पबाट अधिकतम सुरक्षित हुने तवरले पुनःनिर्माण अघि बढाएको बताउनुभएको छ । (गाेरखापत्र अनलाईन )

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १०:३१:४८ , ४ वर्ष अगाडि