दिपेश रोक्का , ८ पटक हेरिएको

दिपेश रोक्का, काठमाडौं। कानेपोखरी एकता समाजको संयोजनमा मोरङस्थित रमाइलो बहुमुखी क्याम्पसलाई २० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग प्रदान गरिएको छ। समाजका संरक्षक तथा समाजसेवी देबेन्द्र लुइँटेलको विशेष उपस्थितिमा र अध्यक्ष मनोज कार्कीको नेतृत्वमा सहयोग हस्तान्तरण गरिएको हो।
क्याम्पसको पुस्तकालय विस्तार तथा शैक्षिक गतिविधि सशक्त बनाउने उद्देश्यले यो सहयोग दुई चरणमा गरिएको हो। सहयोग रकम देउसी–भैलो कार्यक्रमबाट संकलन गरिएको थियो, जसमा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
सहयोग हस्तान्तरण समारोहमा बोल्दै संरक्षक लुइँटेलले शिक्षा क्षेत्रमा गरिएको लगानी दीगो विकासको आधार हुने उल्लेख गर्दै आगामी दिनमा पनि क्याम्पससँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष कार्कीले पनि समाजको तर्फबाट शैक्षिक क्षेत्रमा यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।
कार्यक्रममा क्याम्पस प्रशासन, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समाजका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२५-०७-१८ , समय : २०:४६:३१ , ३ घन्टा अगाडि