प्रशान्त निरौला , ३० पटक हेरिएको

बेलबारी १२ असार । बेलबारी नगरपालिकामा पछिल्लो समय देखिएको विवादलाई केवल आर्थिक पारदर्शिताको प्रश्न मात्र नभएर स्थानीय राजनीतिमा गहिरिएको अविश्वास र शक्ति संघर्षको रूप लिन थालेको छ। नगरपालिकाको आन्तरिक वातावरण विग्रिनुको मूल कारण प्रशासनिक विषयभन्दा बढी दलगत प्रतिस्पर्धा र आपसी अहंकार देखिन थालेको जनप्रतिक्रिया छ।
नगर प्रमुख दिलप्रसाद राई एमाले निकटका हुन् भने उपप्रमुख नितु थापा कोइराला नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्। संघीय सरकारमा यी दुई दलको सहकार्य हुँदाहुँदै स्थानीय तहमा भने बेलबारीजस्तो स्थानमा तीव्र प्रतिस्पर्धा कायम रहेको देखिन्छ। यसले गर्दा सामान्य प्रशासनिक प्रक्रिया पनि विवादको रूप लिने गरेको छ।
उपप्रमुख थापाले चालु आर्थिक वर्षको खर्च विवरण माग्नु स्वाभाविक प्रक्रिया थियो। तर विवरण माग्ने शैली, त्यसमा देखिएको असहमति र पारदर्शितामा प्रश्न उठाउँदै थप विवरण माग्दा लेखा अधिकृतले गोपनीयता देखाएर रोक्नुले परिस्थितिलाई चर्काएको स्थानीय बासिन्दाको बुझाइ छ। यसरी विवरण मागदाको विषय सामान्य प्रशासनिक प्रक्रिया हो भने, त्यसलाई अनावश्यक रूपमा राजनीतिक मोड दिनु दुःखद पक्ष हो।
नगरपालिकाभित्रको पछिल्लो घटनाक्रमले बेलबारीका स्थानीय जनतालाई नै मारमा पारेको छ। नगरपालिकामा देखिएको यो रस्साकस्सीका कारण नियमित सेवा प्रवाह प्रभावित हुन थालेको छ। जनप्रतिनिधि र कर्मचारीबीचको तिक्तता सामान्य नागरिकको पहुँच र सुविधामा प्रत्यक्ष असर पार्न थालेको छ।
त्यति मात्र होइन, राजनीतिक पक्षधरता र आआफ्नो गुटको प्रभाव देखाउन स्थानीय अगुवा, नागरिक समाज र युवाहरू समेत सक्रिय भइरहँदा परिस्थिति झनै असहज बन्दै गएको छ। कार्यालयभित्र ताला लगाउने, ताला फोड्ने, हातपातको स्थिति आउनुजस्ता गतिविधिले प्रशासनको गरिमा नै खलबल्याएको छ।
विवादको समाधानका लागि प्रशासनिक प्रक्रियालाई अवलम्बन गर्नुको सट्टा व्यक्तिगत रिसइवी, राजनीतिक दबाब र शक्ति प्रदर्शनको शैली अपनिँदा बेलबारीमा निष्पक्ष प्रशासन र पारदर्शितामाथि नै प्रश्न उठ्न थालेको छ। यस्तो अवस्थामा दलगत सीमा नाघेर सम्पूर्ण सरोकारवालाले संयम अपनाई विवादको दीर्घकालीन समाधान खोज्न आवश्यक देखिन्छ। नत्र स्थानीय सरकारले गर्नुपर्ने विकासका कामभन्दा विवाद नै प्रमुख समाचार बन्ने अवस्था अझै लामो समय टिक्न सक्छ।
प्रकाशित मिति: २०२५-०६-२७ , समय : ००:०८:३१ , ४ दिन अगाडि