ईनेपालपत्र , १३० पटक हेरिएको

विराटनगर, ४ जेठ । विराटनगरस्थित लर्डबुद्ध कलेजले शनिबार एक विशेष ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गर्दै कक्षा १२ र बीबीएस चौथो वर्षका विद्यार्थीहरुलाई विदाई तथा एमबीएस प्रथम सेमेस्टरमा भर्ना भएका नयाँ विद्यार्थीहरुको स्वागत गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंले सिद्धान्तसँगै व्यवहारिक ज्ञानको आवश्यकता औंल्याउँदै रोजगारमुखी शिक्षाको महत्त्वमा जोड दिए। उनले विद्यार्थीहरुलाई प्रतिस्पर्धी बन्न प्रेरित गर्दै भविष्यलाई लक्षित गरी अध्ययन गर्न आग्रह गरे।
क्याम्पस प्रमुख विनोद भण्डारीले लर्डबुद्ध कलेजको ऐतिहासिक गौरवको चर्चा गर्दै नयाँ व्यवस्थापनले शिक्षाको गुणस्तरमा ध्यान दिँदै देश निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिए। उनका अनुसार कलेजबाट हजारौं विद्यार्थीहरु उत्पादन भएर राष्ट्रिय क्षेत्रमा योगदान पुर्याइरहेका छन्।
कलेजका अध्यक्ष पप्पु अन्सारीले लर्डबुद्ध कलेजले व्यवहारिक र गुणस्तरीय शिक्षामार्फत विद्यार्थीहरुलाई आधुनिक परिवेशमा प्रतिस्पर्धी बनाउने दिशामा निरन्तर अग्रसर रहेको बताए।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू पस्कँदै उपस्थित सहभागीहरुलाई रमाइलो वातावरणमा ल्याए। विदाई पाएका विद्यार्थीहरुले कलेजको अनुभव साझा गर्दै नयाँ विद्यार्थीहरुलाई शुभकामना दिएका थिए। नयाँ भर्ना भएका विद्यार्थीहरुले कलेजको शैक्षिक तथा सामाजिक वातावरण बुझ्ने अवसर पाएका थिए।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कलेजले यस प्रकारका कार्यक्रमलाई नियमितरूपमा सञ्चालन गर्दै विद्यार्थीहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउने प्रयास गर्दै आएको बताइएको छ।
कलेजका अनुसार यस कार्यक्रमले विद्यार्थीहरुलाई अध्ययनसँगै क्याम्पस जीवनको सामाजिक पक्षप्रति पनि जिम्मेवार बनाउने लक्ष्य राखेको छ।
प्रकाशित मिति: २०२५-०५-१७ , समय : १८:०८:३४ , २ हप्ता अगाडि