लैङ्गिक हिंसा अन्त्यका लागि एनसिई नेपालको सक्रिय अभियान

प्रशान्त निरौला , ५१३  पटक हेरिएको

विराटनगर, १४ मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२४ को अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) मोरङ जिल्ला समितिले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने नाराका साथ सुरु भएको यो अभियान २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सञ्चालन हुनेछ।

एनसिई नेपालका जिल्ला संयोजक विनोद भण्डारीका अनुसार यो अभियानअन्तर्गत वृहत सचेतना ¥याली, किशोर-किशोरीहरूलाई अभिमुखीकरण प्रदान गर्ने कार्यशाला, र लैङ्गिक हिंसासम्बन्धी रेडियो कार्यक्रम प्रसारण जस्ता गतिविधिहरू सफलतापूर्वक सम्पन्न भएका छन्। उनले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) शिक्षा अधिकारको क्षेत्रमा कार्यरत ४६० संघसंस्थाहरूको साझा सञ्जाल हो। यसले सबै बालबालिकाका लागि समावेशी, समतामूलक, र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि नीतिगत वकालत, सचेतना, क्षमता विकास र अनुसन्धानका क्षेत्रमा लगभग दुई दशकदेखि निरन्तर योगदान दिँदै आएको छ।

लैङ्गिक हिंसाविरुद्धको यसपटकको अभियानले खासगरी किशोर-किशोरीहरूलाई लक्षित गर्दै लैङ्गिक समानता र अधिकारका विषयमा चेतना फैलाउने उद्देश्य लिएको छ। एनसिई नेपालले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने योजना बनाएको छ।

 

 

प्रकाशित मिति: २०२४-११-२९ , समय : २०:३२:२५ , १ वर्ष अगाडि