ईनेपालपत्र , १६० पटक हेरिएको

लेटाङ, २४ असोज । आगामी दशै र तिहार पर्वलाई लक्षित गर्दै लेटाङ नगरपालिकाले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चार्डपर्ब सम्बन्धी विशेष निर्णयहरु सार्वजनिक गरेको छ।
पत्रकारहरूसँगको कुराकानीमा नगरप्रमुख भूपेन्द्र कुमार लावतीले चार्डपर्बलाई भड्किलो र खर्चिलो नभई शान्त र अनुशासित भएर पारिवारिक सन्देश आदानप्रदान गर्ने पर्वको रूपमा मनाउन नगरवासीलाई आग्रह गर्नुभयो। उहाँले नगरको शान्ति र सुरक्षा कायम राख्न सबैको दायित्व रहेको र अनावश्यक होहल्ला नगर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, तथा मौसम पूर्वानुमानको जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गर्नुभयो।
उपमेयर कृष्ण कुमारी निराैलाले नगरपालिकाको लागुपदार्थ दुर्व्यसनविरुद्धको शून्य सहनशीलताको नीतिलाई स्पष्ट पार्दै, यस्ता अवैध गतिविधिहरूलाई रोक्न नगरवासीहरूलाई एकजुट हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयाे “समाजमा स्वस्थ र सकारात्मक वातावरण कायम राख्न हामी सबैको सक्रिय सहभागिता आवश्यक छ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्याैपानेले सडक क्षेत्राधिकारमा निर्माण सामग्री, चौपाया लगायतका वस्तु छाडेर सडक अवरोध नगर्न र चार्डपर्बको नाममा तास, जुवा जस्ता गतिविधिहरूले आर्थिक र मानसिक समस्या निम्त्याउने भएकाले नगरवासीहरूलाई यस्ता क्रियाकलापबाट टाढा रहन र सामाजिक बहिष्कार गर्न सुझाव दिनुभयो।
चार्डपर्ब विशेष देउसी, भैली, हुरा, नाचगान तथा व्यापार व्यवसाय सञ्चालन बेलुकी १० बजेभित्र मात्र गर्नुपर्ने, र यस्ता क्रियाकलापमा गरिने दान ५०५ रुपैया भन्दा बढी नगर्न नगरपालिकाले विशेष अनुरोध गरेको छ।
नगरपालिकाले देउसी भैली जस्ता सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्दै, यी गतिविधिहरूलाई अनुशासन र मर्यादाको सीमाभित्रै सम्पन्न गर्न अपिल गरेको छ।
प्रकाशित मिति: २०२४-१०-१० , समय : १८:५४:०६ , ९ महिना अगाडि