नहर सफाई नहुँदा किसान चिन्तित

Enepal Patra Pvt. Ltd. , १०३२  पटक हेरिएको

कानेपोखरी, माघ ३ । सुनसरी–मोरङ सिंचाई आयोजनाले लोहोन्द्रा देखि केरौन चौक सम्मको नहर सफाई नगर्दा झमनपुर करिडोरको ४ हजार ५ सय हेक्टरमा लगाइएको गहुँबाली सुक्न थालेको छ । आयोजना प्रमुख हरिराम श्रेष्ठले एक साता भित्रमा नहर सफाई गरिसक्ने आश्वासन दिए पनि अझै नहरको सफाई नभएको स्थानीयको गुनासो छ ।
२०७४ को साउन २८ गते आएको बाढीले लोहन्द्रा खोलाको पुल मुनिको साइफल भत्काएपछि नहरको पानी पूर्व तर्फ जान सकेको थिएन ।
आयोजनाले अस्थायी बाँध निर्माण गरी लोहोन्द्रा पूर्व पानी पठाउने ब्यवस्था मिलाएको छ । तर नहर सफाई नगर्दा अस्थायी बाँधबाट पूर्व तर्फ पानी जान नसकेको उपभोक्ताहरू बताउँछन् । कानेपोखरीको झमनपुर नहर शाखाका अध्यक्ष खङ्गलाल शाहले भन्नुभयो – ‘दशैंपछि नै नहर सफाई गर्ने आश्वासन पाएका थियौंं तर गहुँबालीमा पानी लगाउने समय भइ सक्दा पनि नहर मर्मत भएको छैन् ।’ शाहका अनुसार नहरको नेता चौक खण्ड देखि केरौन चौकसम्म नहर सफाई अझै भएको छैन् । नहर जलकुम्बीले भरिएको छ । उहाँले डिभिजन इन्जिनीयर र आयोजना प्रमुख बीचको बिवादले किसान मर्कामा परेको आरोप लगाउनु भयो । पानीका उपभोक्ताहरूले पटक पटक सिकायत गरे पनि आयोजनाले उदासिनता देखाएको रङ्गेली ८ का वडा सदस्य कुमार रिजालले बताउनु भयो ।
उता सुनसरी मोरङ सिंचाई आयोजनाका डिभिजन इन्जिनीयर एकराज भट्टराईले ५ किलो किलो मिटर उत्तरबाट ल्याइएको सानो पानी नहरमा झर्दा हराउने गरेको बताउनु भयो । कुलो बनाएर ल्याएको पानी नहरमा हालेका छौं । नहरको सबै पानी कुलोमा हाल्न सकिने अवस्था छैन । हाल्दा ओभर फ्लो भएर किसानले लगाएको बाली पानीले डुवाउँछ । उहाँले लोहोन्द्रा पूर्वका सबै ६ वटा शाखा र २२ वटा उपशाखा नहर र पैनी सम्ममा पानी पु¥याउने गरी योजना तयार गरेर कार्यलय प्रमुखलाई दिएको बताउनु भयो ।
कार्यलय प्रमुख हरिराम श्रेष्ठले सबै पानी पु¥याउन नसके पनि ५ दिन भित्रमा आयोजनासँग उपलब्ध स्रोत साधन परिचालन गरी किसानका खेतमा पानी पु¥याृउँने प्रतिवद्धता ब्यक्ति गर्नुभयो ।
आयोजनाले नहर भत्किएको ४ महिना पछि ५ किलोमिटर उत्तरबाट अस्थायी कुलो बनाएर पानी नहरमा हालेको थियो । अझै सोही स्थानबाट पानी नहरमा हालिएको छ । अस्थायी बाँध बनाएर पानी मुल नहरमा हालिएकोले नहरमा पानीको बहाव छैन् । नहर घुमाउरो हुँदा पानीको बहाव घट्छ । अझ नहरको सफाई नहुँदा पानी खेत सम्म पु¥याउन समस्या भएको उपभोक्ता इन्द्रबहादुर विष्टले बताउनु भयो ।
सुनसरीको चतरादेखि मोरङको केरौनसम्म मुख्य नहर ५३ किलोमिटर लामो छ। जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनी भन्ने स्थानमा लोहन्द्रा खोला र मुख्य नहरको भेट हुन्छ । यही स्थानमा लोहन्द्रा खोला माथिबाट बग्छ भने यसको मुनिबाट साइफन( सुरुङ बनाएर तल सुरुङै–सुरुङ )मुख्य नहर लगिएको थियो । १ सय ५३ मिटर लामो साइफन माथिबाट बग्ने लाहोन्द्राको पुल बगाएपछि केरौन चौकबाट इटहरी–विराटनगर सडक खण्डको खनारसँग जोड्ने सडक समेत अस्थायी डाइर्भसनबाट सञ्चालन हुँदै आएको छ ।
लोहन्द्रा पूल बगाउँदा झण्डै ३४ करोड क्षति भएको थियो ।सुनसरी मोरङ सिंचाई आयोजना चतरा मुल नहर उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद मेहताले मन्त्रालय र विभागले वर्षमा दुई पटक कार्यालय प्रमुख परिवर्तन गरिदिँदा पुल निर्माणको टेण्डर आब्हान हुन नसकेको आरोप लगाउनु भयो । विभागीय मन्त्रीहरू आएर निरीक्षण गर्नु हुन्छ । आश्वासन दिनुहुन्छ तर पुल र साइफन निर्माण हुँदैन –अध्यक्ष मेहताले भन्नुभयो । पछिल्लो समय सुनसरी मोरङ आयोजनालाई सेतो हात्तीको रुपमा लिन थालिएको छ ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : २२:४७:४३ , ५ वर्ष अगाडि