पर्यटनमन्त्री योगेश भट्टराई एक लाख अस्ट्रेलियन नेपाल घुम्न जाऔं भन्छन्, तर अस्ट्रेलिया सरकारको ट्राभल एड्भाइजरीले यस्तो भन्छ

Enepal Patra Pvt. Ltd. , ९५३  पटक हेरिएको

काठमाडौं  २३ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई यतिबेला अस्ट्रेलियामा छन् । उनले मंगलबार सिड्नी र ब्रिसबेनमा नेपाल भ्रमणको औपचारिक उदघाटन गरे ।

उदघाटनअघि ब्यानरसहितको जुलुस निकालेको विषयमा सुरक्षाकर्मीसँग सामान्य विवाद भएको विषयले नेपालमा ठूलै चर्चा परिचर्चा भयो । तर, मन्त्री भट्टराईले त्यस्तो केही नभएको प्रस्टीकरण दिए । त्यसपछि उनी ओपेरा हाउस पुगे । दुई तीन ठाउँमा भ्रमण वर्षसम्बन्धी कार्यक्रममा सहभागी पनि भए । बुधबार पनि उनको कार्यक्रम जारी छ । भट्टराईले एक लाख अस्ट्रेलियन नेपाल आउन सक्ने बताए । अहिले वार्षिक ३८ हजारको हाराहारीमा अस्ट्रेलियन पर्यटक नेपाल आउँछन् । त्यसमा धेरैजसो नेपाली नै छन् ।

मन्त्री भट्टराईले औपचारिक रूपमा नेपाल भ्रमणमा आउन आह्वान गरे पनि अस्ट्रेलियन सरकारले मंसिरमा जारी गरेको ट्राभल एड्भाइजरीमा भने आफ्ना नागरिकलाई सावधान रहन सचेत गराएको पाइएको छ । अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकका लागि जारी ट्राभल एडभाइजरीमा नेपालको भ्रमण जोखिमपूर्ण हुन सक्ने उल्लेख छ । मंसिर २३ गते पछिल्लो पटक अपडेट गरिएको एडभाइजरीमा काठमाडौलगायत नेपालभरि जुनसुकै बेला साना खाले विष्फोट हुनसक्ने उल्लेख छ । नेपालमा बन्द हड्ताल पनि हुने र त्यसबेला अत्यावश्यक सेवा र पानी तथा खानेकुरासमेत अभाव हुनसक्ने भनेर सचेत गराइएको छ ।

ट्राभल एडभाइजरीमा नेपालमा पर्यटकमाथि चोरी, लुटपाट, कुटपिट र यौन दुव्र्यवहार हुने घटनासमेत सामान्य भएको भन्दै उच्च सतर्कता अपनाउन भनिएको छ । महिलामाथि झनै जोखिम बढ्न सक्ने भन्दै एक्लै यात्रा नगर्न समेत आफ्ना नागरिकलाई सचेत गराएको छ । नेपाल भूकम्प र बाढीपहिरोको उच्च जोखिममा रहेकाले जतिबेला पनि आपतकालीन उद्धारका लागि तयार रहन भनिएको छ ।

हरेक वर्ष एक करोड अस्ट्रेलियन नागरिकले विदेश भ्रमण गर्ने गरेका छन् । त्यसमध्ये एक लाख मात्रै नेपाल आए भने पनि पर्यटनमन्त्री भट्टराईले घोषणा गरेको जस्तो नेपाल भ्रमण सफल हुने आधार बन्ने छ । तर, त्यहाँको सरकारको एडभाइजरी हेर्दा पत्याउन सकिने आधार अझै नभएको देखिन्छ ।

Canada Nepal मा खबर छ ।

प्रकाशित मिति: २०२०-०१-०८ , समय : १५:१०:०२ , ४ वर्ष अगाडि