मोरङ जिल्ला फुटबल लिग प्रतियोगिता सम्पन्न

प्रशान्त निरौला , २७३  पटक हेरिएको

मोरङ, १७ असार । “सबैका लागि खेलकुद, खेलौ फुटबल“ भन्ने नाराका साथ मोरङ जिल्ला फुटबल लिग प्रतियोगिता २०८० भव्य रूपमा सम्पन्न भएको छ। १० वटा मोरङका फुटबल क्लबहरूको सहभागितामा भएको यो प्रतियोगितालाई मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको थियो।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि कोशि प्रदेशका खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम बस्नेत, बिशिष्ट अतिथि फुटबल संघका केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, बिशिष्ट अतिथि लेटाङ नगरपालिकाका पूर्व मेयर शंकर राई लगायतले खेलाडीहरूलाई हौसला प्रदान गरेका थिए।

जेठ २१ गतेदेखि सुरु भएको यस लिग प्रतियोगितामा १० क्लबहरू प्रतिस्पर्धामा उत्रिएका थिए। विराटनगर र वेलवारीमा भएका खेलहरू उत्साहपूर्ण र रोमाञ्चक वातावरणमा सम्पन्न भए।
प्रतियोगिताको फाइनल खेल बेलबारी खेल मैदानमा आयोजना गरिएको थियो, जहाँ सम्राट स्पोर्टिङ क्लब विराटनगर र चारतारे क्लब लेटाङ विच ३—३ गोल गर्दै वरावरी खेलेपछि पेनाल्टी सुटआउटमा ५—४ गोल अन्तरले सम्राट बिजेता बन्न सफल भएको हो ।

बिजेताले ५१,००० रुपैयाँको प्रथम पुरस्कार र उपविजेताले ३१,००० रुपैयाँको दोस्रो पुरस्कार मेडल र प्रमाणत्र प्राप्त गरे। सम्राट स्पोर्टिङ क्लबको यो जितले उनीहरूको उत्कृष्ट प्रदर्शन र मेहनतलाई प्रमाणित गरेको छ।
प्रतियोगिताले मोरङ जिल्लामा फुटबलको महत्त्व र खेलकुदको विकासमा योगदान पुर्याएको छ। यो लिगले खेलाडीहरूको प्रतिभा निखार्न र नयाँ खेलाडीहरूलाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रतियोगिताको समापन समारोहमा खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि बस्नेतले भने, “यो लिगले खेलकुदमा सबैको सहभागिता सुनिश्चित गराउन र फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ।“

मोरङ जिल्ला फुटबल संघ र प्रतियोगिताका आयोजकहरूलाई धन्यवाद दिँदै सहभागी क्लबहरू र खेलाडीहरूले आगामी प्रतियोगिताहरूमा पनि यस्तै उत्साहका साथ सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: २०२४-०७-०१ , समय : १९:४३:०३ , ११ महिना अगाडि