लेटाङमा एमालेको जिल्ला स्तरीय प्रशिक्षण सुरु

ईनेपालपत्र संबाददाता , ११५  पटक हेरिएको

लेटाङ, १७ फागुन । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङको आयोजनामा लेटाङमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बुधबारदेखि सुरु भएर आज विहीबार सकिने प्रशिक्षणमा नेकपा एमालेको जनवर्गिय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु सहभागी छन् ।

एमालेका २३ वटा जनवर्गिय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्लाका नेताहरुलाई बेग्ला बेग्लै राखेर ३ वटा कक्षामा प्रशिक्षण सञ्चालन गरिएको छ । प्रशिक्षण अन्तरगत बुधबार पहिलो दिनको कक्षामा नेताहरु हिक्मत कार्की, भानुभक्त ढकाल, विन्दा पाण्डे, घनश्याम खतिवडा, ऋषिकेश पोखरेल र सोमराज थापाले प्रशिक्षण दिनुभयो । विद्यालय तथा कलेजमा पढाए जसरी नै ३ वटा कक्षामा समय तोकेर पालैपालो नेताहरुले प्रशिक्षण दिएका छन् ।

दुइ दिन सञ्चालन हुने आवसिय प्रशिक्षण कार्यक्रम पार्टी, जनप्रतिनिधि र जनसंगठनबीचको अन्तरसम्बन्ध र माक्र्सवादको विषय केन्द्रीत रहने बताइएको छ । पार्टीका जनवर्गिय संगठनहरुलाई सक्रिय र मजवुद बनाएर सुदृढ नेतृत्व तयार पार्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङका संयोजक रविन थापाले जानकारी दिनुभयो ।
पार्टीका नेता कार्यकर्ताहरुलाई बेला बेलामा पुनरताजगी गर्नुपर्छ भन्ने उद्देश्यले पार्टीका, दर्शन, सिद्धान्त र विचारका बारेमा प्रशिक्षण सञ्चालन गारिएको बताइएको छ ।

प्रशिक्षणमा पार्टीको तत्कालिन कार्यभार, दीर्घकालिन कार्यभार र आगामी कार्यदिशा बार पनि प्रशिक्षण प्रदान गरिने एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । पछिल्ला दिनहरुमा नेता कार्यकर्तामा कम अध्ययन गर्ने, पपुलारिजममा रमाउने जस्ता कृयाकलाप बढ्दै गएकाले पार्टी स्कूल विभागको नीति अन्तरगत प्रशिक्षण राखिएको कार्कीले बताउनुभयो ।

दार्शनिक सैद्धान्तिक, राजनीतिक समसामयिक, र प्राविधिक गरि ३ वटा विषयमा केन्द्रीत रहेर प्रशिक्षण सञ्चालन गरिएको बताइएको छ । बिहिबार अन्तिम दिन पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षणमा करिव २ सय जना सहभागी छन् ।

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

प्रकाशित मिति: २०२४-०२-२९ , समय : ०६:१२:०७ , २ महिना अगाडि