कक्फेवा तङ्नाममा विविध कार्यक्रम

Enepal Patra Pvt. Ltd. , १०८७  पटक हेरिएको

पथरीशनिश्चरे, माघ ३ ।
प्रदेश नम्बर १ स्थित मोरङको पथरीशनिश्चरेमा कक्फेवा तङ्नाम तथा किरात यले सम्बत्का अवसरमा विभिन्न जातीय संघ संस्थाले विविध कार्यक्रम गरेका छन् ।
येले सम्वत ५०७९ मनाउने क्रममा किरात राई यायोख्खाले पथरीको साकेलास्थलमा आयोजित कार्यक्रममा परम्परागत खेलका रुपमा रहेको छेलो प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलिपकुमार राईले २९ दशमलव ९ फिट दुरीमा छेलो हानेर प्रतियोगिताको उद्घाटन् गर्नुभएको थियो । उहाँले हानेको छेलोको दुरीलाई अरुले भेट्न नसकिरहेको असस्थाको अन्त्यतिर सुकुहाङ लिम्बूले ३१ फुट छेलो हानेर आफुलाई प्रथम वनाउनु भयो ।
हण्डीफोरमा प्रदिप राई, म्यूजिकल चियर्समा हेमा राई र बालबालिकाको बेलुन फुटाईमा आशिका लिम्बूले प्रथम स्थान हासिल गरी नगद पुरस्कार प्राप्त गर्नुभएको यायोख्खाका नगर अध्यक्ष अशोक चाम्लिङले जनाउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राईले विभिन्न जातजातिका संस्कारहरुलाई खुला रुपमा मनाउँदै आफ्ना संस्कृति जगेर्ना गर्नु आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
किरात याक्थुङ चुम्लुङ नगर शाखा समितिले शुभकामना आदान प्रदान गर्दै कक्फेक्वा तङ्नाम तथा किरात यले सम्बत् मनाएको छ ।
चुम्लुङकी केन्द्रीय सदस्य खिनामाया लिम्बु, प्रदेश सदस्य सन्तोष सिरेङ, जिल्ला सल्लाहकार गोविन्द वनेम, नगर निवर्तमान अध्यक्ष धनप्रसाद सावालगायतले तङनाम र यले सम्बतका बारेमा प्रष्टाउदै शुभकामना साटासाट गर्नुभयो । कार्यक्रममा जेहेन्दार छात्रवृद्धीलाई समेत वितरण गरेको नगरसचिव विक्रम लिम्बुले बताउनु भयो ।
मगर संघले पनि पथरीशनिश्चरे वडा नम्वर १ का वडाध्यक्ष बाबुराम एङ्देनको प्रमुख आतिथ्यतामा नयाँ सम्वत सारल्हेसा ५०१३ का अवसरमा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : १९:५६:२० , ५ वर्ष अगाडि