जडीबुटी खेतितर्फ आर्क्षित हुँदै भोजपुरका कृषक

Enepal Patra Pvt. Ltd. , १४६६  पटक हेरिएको

भाेजपूर, १६ पुष ।  पछिल्लो समय भोजपुरका कृषकहरु जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । डिभिनजन वन कार्यालय भोजपुरले जिल्लाका विभिन्न ठाउँमा जडीबुटीको पकेट क्षेत्र तोकेपछि कृषकहरु जडीबुटी खेतितर्फ आर्क्षित भएका हुन् ।
पकेट क्षेत्र तोकेर आवश्यक रुपमा प्रविधिक तथा आर्थिक सहयोग उपलब्ध गराएपछि जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढेको हो । जडीबुटी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले पनि अनुदानको व्यवस्था समेत गरेको छ । तर, कतिपय किसानले भने अनुदान नपाएपनि यसको व्यवसायिक खेती गरिरहेका छन् ।
भोजपुर जडीबुटीको लागि निकै सम्भावना बोकेको जिल्ला हो । जिल्लाको माथिल्लो भेगमा सतुवा, चिराईतो, लोडसल्ला लगायत जुडीबुटी उत्पादन हुँदै आएको छ भने तल्लो भेगमा टिम्बुर, तेजपत्ता लगायत जडीबुटी उत्पादन हुने गर्दछ ।
जिल्लामा ८४ हजार हेक्टर वन क्षेत्रले ओगटेको छ । जबीबुटी खेती विस्तारका लागि विभिन्न ठाउँमा पकेट क्षेत्र बनाएर काम गरिरहेको डिभिजन वन कार्यालयका प्रमुख फडिन्द्र पोखरेलले जानकारी दिनुभयो ।
जिल्लामा जडीबुटी उत्पादन हुने क्षेत्रको अवलोकन गर्ने र सम्भाव्यताको आधारमा लक्षित कृषकलाई ध्यानमा राखेर प्रोत्साहन स्वरुप अनुदान तथा प्राविधिक सहयोग गर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।
कृषक जडीबुटी खेतीमा आर्क्षित भएपनि बजारीकरणमा समस्या देखिएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले बताउनुभयो । त्यस्का कारण कतिपय कृषकले केही समय काम गर्ने र पुनस् छाड्ने प्रवृति बढेकोले यसको स्थायीत्वमा ध्यान दिनुपर्ने खड्काको भनाई रहेको छ ।
डिभिजन वनले भौगोलिक स्थितिका आधारमा उत्पादन हुने जडीबुटीको नामावली संकलन गरी काम अघि बढाएको हो । जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनवेत, बुढो ओखती, मजिटो लगायत जडीबुटीको व्यावसायिक रुपमा खेती भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
त्यस्तै, सेतकचिनी, वनआलु, वनमुला, वनलसुन, बिखुम्मा, धसिग्रे, बोजो कुट्की, पदमचालन, सुगन्धवाल लगायतको खेती भएपनि व्यावसायिक खेतीका लागि कृषकलाई प्रोत्साहन गरिने भएको छ । किसानले जिल्लाको दोवाने, खाटम्मा, किमालुङ्ग, खार्तम्छा, खावा, तिम्मा, हेलौछा, सिद्धेश्वर, गुप्तेश्वर, लेखर्क, लगायत स्थानमा जडीबुटी खेती गर्दै आएका छन् ।

-रेडियो कान्तिपुर

प्रकाशित मिति: २०२०-०१-०१ , समय : १२:१३:४२ , ४ वर्ष अगाडि