हाम्रो समाचारदाता , २८१ पटक हेरिएको
काठमान्डौ, ४ अशोज । प्रतिनिधि सभाका सांसद, कांग्रेसका प्रभावशाली युवा नेता डा. सुनिल शर्माले सामाजिक कार्यमा आफु निरन्तर सक्रिय रहने बताएका छन् । ‘बरु म राजनीति छाड्न सक्छु तर, सामाजिक सेवाको काम छाड्न सक्दिनँ’ उनले थपे, ‘राजनीति पनि मेरा लागि सेवा नै हो, जुन दिन यो पेसा बन्छ मेरो राजनीतिक यात्राले कुनै मायने राख्ने छैन ।’
डा. शर्माले सांसद भइकन आउने पारीश्रमिक समेत लिएका छैनन् । नोबेल मेडिकल कलेज, केएमसीका संचालक समेत रहेका डा. शर्माले दुबै संस्थाबाट वर्षेनी हजारौंलाई सेवा गर्दै आएका छन् ।
देशका विकट-विकट ठाउँमा स्वास्थ्य शिविर, अस्पतालमै निःशुल्क उपचार, विरामी भएर उपचार गर्न नसक्नेलाई आफ्ने पहलमा अस्पताल पुरयाएर सम्पूर्ण खर्च बेहोरेका धेरै उदाहरण छन् ।
गत वर्षमात्र डा. शर्माको पहलमा ५० हजारभन्दा बढीको निःशुल्क उपचार गरिएको थियो । कालिकोटदेखि दैलेख, ताप्लेजुङ जस्ता जिल्लामा समेत पुगेर डा. शर्मा नेतृत्वको टिमले सामाजिक कार्य गर्दै आएको छ । उनले आर्थिक रुपले विपन्न
धेरैलाई एमबीबीएस, नर्सिङलगायतका शिक्षा प्रदान गर्दै आएका छन् । सीमान्तकृत झाँगड समुदायका एक विद्यार्थीलाई उनी आफैले लगानी गरेर चिकित्सक बनाएका छन् । सामाजिक यस्तै काम गरेपछि आम जनताबाट जनप्रतिनिधि बन्न आग्रह भएअनुसार डा. शर्मा मोरङबाट प्रतिनिधि सभामा उम्मेदवार भएका हुन् । अघिल्लो निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भए पनि गएको निर्वाचनमा भने आफैलाई हराउने एमालेका भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गरेका थिए ।
‘सामाजिक काम गर्दा अलग्गै प्रकारको आत्मसन्तुष्टि पाउँछु’ उनले भने, ‘म आफै पनि सुकुम्वासी परिवारको हुँ, मेरो केही थिएन, खान लाउन पुग्दैनथ्यो तर, मेहनत गरेर आजको मुकाममा पुगें, मैले धरातल विर्सिएको छैन ।’
प्रकाशित मिति: २०२३-०९-२१ , समय : २०:४५:१९ , १ वर्ष अगाडि