वायोफ्लक प्रविधिबाट आँगन मै माछापालन

Enepal Patra Pvt. Ltd. , ८२०  पटक हेरिएको

कानेपोखरी, १२ पुस । मोरङको कानेपोखरी–६ का गणेश कट्टेलले वायोफ्लक प्रविधिबाट माछापालन ब्यावसाय सुरु गर्नु भएको छ । यो प्रविधिबाट माछापालन गर्दा खेतमा खाडी खनिरहनु पर्दैन ।
घर आँगन मै माछापाल्न सकिने यो प्रविधि मोरङमा आफूले नै पहिलो पटक सुरु गरेको कट्टेलले बताउनु भयो । ग्लोवल बैंकको जागीर छोडेर माछापालनमा लाग्नु भएका २५ वर्षीय गणेश वार्षिक ६ लाखको माछा उत्पादन गर्ने लक्ष्य रहेको बताउनु हुन्छ । उहाँ अहिले फलामे रडबाट निर्माण गरिएको ३ डाई मिटरको खाडीमा १५ सय भुरा हाल्ने तयारीमा हुनुहुन्छ ।
ट्राउट बाहेक सबै प्रजातिका माछा पाल्न सकिने फलामे खाडीमा पानी चिसो बनाइरहन अक्सिजनको ब्यवस्था मिलाइएको छ । १ वर्षमा २ पटक माछा निकाल्न सकिन्छ । १५ सय भूरा हाल्दा एक पटकमा न्यूनतम २ लाखको माछा उत्पादन हुने कट्टेलले बताउनु भयो । सामान्यता ६ सय ग्रामको भएपछि माछा बिक्री गर्न सकिन्छ ।
कट्टेलले हाल एउटा ३ डाईमिटरको खाडी तयार गर्नु भएको छ । खाडी, खाडी राख्ने पूर्वाधार र अक्सिजनको ब्यवस्थापन गर्दा हाल सम्म ८५ हजार रुपियाँ खर्च भइसकेको ब्यावसायी कट्टेलको भनाई छ । ५ मिटर सम्मको डाई मिटर निर्माण गर्न सकिन्छ । जति ठूलो निर्माण गर्न सक्यो उत्तिनै कम लगानी हुने उहाँले बताउनु भयो ।
कट्टेलले जागीर छोडेर गाउँमा आई माछापालन सुरु गरेपछि स्थानीय दीपक माझी,मानबहादुर मगर र नबीन दाहाल समेत कट्टेलको साझेदार बन्नुभएको छ । कट्टेलले साथीहरू साझेदार बन्न ईच्छ्क हुनु भएकोेले अब चाँडै ४ वटा ५ डाईमिटरका खाडी तयार गर्ने तयारी गरिरहेको बताउनु भयो ।
भेटेरीनरी अस्पताल तथा पशु ज्ञान केन्द्र विराटनगरका मत्स्य विकास अधिकृत रुद्र फुयलले यो प्रविधिमा बढी जोखिम हुने बताउनु भयो । मोरङको विराटनगरमा एक जना किसानले वायो फ्लक प्रविधिबाट माछा पालिरहेको भए पनि यो प्रविधिका लागि सरकारी स्तरबाट कुनै सहयोग र कार्यक्रम नरहेको फुयलले बताउनु भयो ।

प्रकाशित मिति: २०१९-१२-२८ , समय : ०५:००:४२ , ४ वर्ष अगाडि