कानेपोखरी गाउँपालिकाको आन्तरिक आम्दानी ७३ प्रतिशतले वृद्धि

सङ्घीय सरकारबाट प्राप्त हुने रकम साडे ३९ प्रतिशतले कमी

enepalpatra , ३०७  पटक हेरिएको

कानेपोखरी,१३ फागुन । सङ्घीय र प्रदेश सरकारले पूर्व निर्धारित बजेट नपठाउँदा स्थानीय तहका विकास योजनाहरू सङ्कटमा पर्ने देखिएको छ । शुक्रबार मोरङको कानेपोखरी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा पालिकाका अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कार्ययोजना अनुसार काम हुन नसक्ने सङ्केत गर्नुभयो ।
७० करोड ६ लाख ४८ हजार रुपियाँको बजेट बनाएको गाउँपालिकाले चालु ७ महिनामा २८ करोड १३ लाख ८९ हजार रुपियाँ खर्च गरेको छ । ८० प्रतिशत कार्य सम्पादन भएपनि पैसा दिन नमिल्ने भएकोले खर्च प्रतिशत कम देखिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । अध्यक्ष इङ्नामका अनुसार चालु आर्थिक वर्षको साडे ७ महिनामा पालिकाले कुल बजेटको ४० दशमलव १६ प्रतिशत खर्च गरेको छ ।सङ्घीय सरकार र प्रदेश सरकारले नियमित दिने राजश्व बाँडफाँडको रकम लक्ष्य अनुसार प्राप्त नहुँदा पालिकाका धेरै वटा योजना कटाउनु पर्ने अवस्था आएकोे प्रशासकीय अधिकृत घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रति महिना ८६ लाख ४७ हजारका दरले राजश्व बाँडफाँडको रकम निकासा हुुनुपर्नेमा हाल ४६ लाख ५९हजारका दरले मात्र निकासा भइरहेको छ ।उक्त रकम लक्ष्य भन्दा ४६ दशमलव १२ ले कमी हो । यस्तै घरजग्गा रजिष्ट्रेसन वापत प्राप्त हुने रकम पनि लक्ष्य भन्दा ६५ दशमलव १२ प्रतिशतले कमी प्राप्त भएको छ । घरजग्गाबाट मासिक १२ लाख ५० हजारका दरले निकासा हुनु पर्नेमा ४ लाख ३६ हजारका दरले प्राप्त भइरहेको छ । जुन रकम मासिक ८ लाख १४ हजारले कमी हो ।
यता पालिकाको आन्तरिक आम्दानी भने लक्ष्य भन्दा ७३ प्रतिशतले वृद्धि भएको छ । प्रमुुुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो – ७ लाख ९१ हजार रुपियाँका दरले मासिक राजश्व सङ्कलनको लक्ष्य थियो । हालसम्म मासिक १३ लाख ७१ हजारका दरले राजश्व सङ्कलन भइरहेको छ । सङ्घीय र प्रदेश सरकारले दिने ससर्त बाहेकको अनुदान मासिक १ करोड ६ लाख ८८ हजार रुपियाँ हुनुपर्नेमा हालसम्म ६४ लाख ६६ हजार रुपियाँ मात्र प्राप्त भइरहेको छ । जुन रकम लक्ष्य भन्दा ३९ दशमलव ५० प्रतिशतले कमी हो ।


गाउँपालिकाले चालु आर्थिक वर्षकोे ७ महिनामा ७ करोड ५० लाख रुपियाँ वेरुजु फस्र्यौट गरेको छ । आर्थिक वर्ष ०७८/०७९ मा महालेखा परीक्षकको प्रतिवेदनले गाउँपालिकाको नाममा १० करोड ९८ लाख रुपियाँ बेरुजु देखाएको थियो । आर्थिक वर्ष २०७३/०७४ देखि सुरु भएको बेरुजु ०७८/०७९ मा आइपुग्दा झण्डै ११ करोड रुपियाँ पुगेको हो । सार्वजनिक सुनुवाईमा गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले भन्नुुभयो – चालु आर्थिक वर्षमा शुन्य बेरुजुुहुने गरी कार्य सम्पादन भइरहेको छ ।
पालिकाले तर्जुमा हरेक कार्यक्रमलाई खर्च गर्ने अलग्गै ऐन र कार्यविधि बनाएर गरिएकोले बेरुजु शुन्य हुने उपाध्यक्ष अधिकारीको भनाई छ । पालिकाले चालु आर्थिक वर्षमा ३ वटा ऐन ,५ वटा कार्यविधि,एउटा मापदण्ड र ४ वटा ढाँचा निर्माण गरेको छ ।
सार्वजनिक सुनुवाई राजनीतिक दलका नेता कार्यकर्ता,शिक्षक, कर्मचारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो । भुल्के मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रम कानेपोखरी–२ को वडा कार्यालय परिसरमा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट मेघराज मुखियाले स्वास्थ्य बीमालाई कानेपोखरी अस्पतालमा ब्यवस्थित गर्न सुझाव दिनुभयो । एमालेका तर्फबाट बोल्दै नवीन पौडेलले ५० बुँदे सुझव दिनुभयो । जनता समाजवादी पार्टीका तर्फबाट राजकुमार घिसिङले सुझाव पेश गर्नुभयो ।
सहभागिका तर्फबाट थानेश्वर प्राविका प्रअ मीना खड्का, ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवीन राई, जनसेवा माविका सहायक प्रअ प्रमोद निरौला, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य धनबहादुर बुढाथोकी, अगुवा किसान धनबहादुर गुरुङ र देवनारायण राजवंशीले पालिकाले दिने सेवाका विषयमा पश्न उठाउनु भयो । सार्वजनिक सुनुवाईमाम उठेकाक प्रश्नहरूको पालिका अध्धयक्ष, उपाध्यक्ष,वडाध्यक्ष सुशील बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृतले जवाफ दिनुभयो ।
कार्यक्रमको सहजीकरण रेडियोकर्मी बाबुराम निरौलाले गर्नुृभएको थियो ।

 

प्रकाशित मिति: २०२३-०२-२६ , समय : ०८:३२:१५ , १ वर्ष अगाडि