उर्लाबारीमा २२ करोड बेरुजु

महोत्सव मा उर्लाबारीको पहिचानको सवाल छ- नगर प्रमुख खरेल

ईनेपालपत्र समाचारदाता , ५०३  पटक हेरिएको

उर्लाबारी, २० पुस। उर्लाबारी उद्योग वाणिज्य संघले माघ १९ देखि २८ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव २०७९ लगाउने जनाइएको छ ।
बाणिज्य संघले मंगलबार सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम मंगलबार गरेको छ । व्यवस्थित ढंगले महोत्सव लगाएर उर्लाबारीको पहिचान झल्काउनुपर्ने सो कार्यक्रममा प्राय सवै बक्ताहरुले सुझाव दिएका थिए ।
यसै क्रममा कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले समृद्ध उर्लाबारीको पहिचान महोत्सव मार्फत दिलाउन नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले महोत्सवलाई उर्लाबारीवासीको पहिचानको सवाल भएकोले सवै पक्षका मानिसहरुको सहयोग रहनुपर्ने बताएका छन् । नगर प्रमुख खरेलले विभिन्न पक्षसँग आपसी समन्वय गर्दै महोत्सवलाई सफल पार्नका लागि व्यवस्थापनमा ध्यान दिन बाणिज्य संघलाई आग्रह गरेका छन् । सो अवसरमा उनले उर्लाबारीमा गौरवका योजनाहरु सञ्चालन हुन लागेको र त्यसबाट पनि उर्लाबारीको पहिचान झल्किने बताएका छन् ।
उनले ६० करोडमा बक्राहा घाट(विष्णु गंगा) लाई व्यवस्थित बनाउने, वेतिनी सीमसार, लामपाते सीमसार, बाँसेचउरी सीमसार, उर्लाबारी बस पार्क जस्ता गौरवका योजना सञ्चालन हुन लागेको जानकारी दिएका छन् । उनले उर्लाबारीको बसपार्कमा बरगाक्षी र हाटखोलामा रहेको बसहरु लगेर व्यवस्थित गरिने बताएका छन् । उनले उर्लाबारीको शुक्रबारे बजारलाई पनि व्यवस्थित गर्न लागिएको जानकारी दिएका छन् । नगर प्रमुख खरेलले बिकास निर्माण कार्यमा जनप्रतिनिधि, प्राविधिक, सरोकारवाला एवम् सबै पक्ष जिम्मेवार भएर जुट्नु पर्ने बताउँदै एक पटक कालोपत्रे गरेको सडक कम्तिमा ५/७ बर्ष टिक्नुपर्ने बताएका छन् । उनले विगतका ४/५ बर्षमा उर्लाबारी नगरपालिकामा २२ करोड बेरुजु रहेको जानकारी दिंदै लापरवाही ढंगले निर्माणको काम नगर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी कार्यक्रममा उप-प्रमुख मीना खतिवडा पौडेल, होटल व्यवसायी संघका उर्लाबारी अध्यक्ष मनोहरी दाहाल, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष नवराज भट्टराई, बाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार रिजाल र प्रितम खड्गी, जसपाका अध्यक्ष मात्रिका धिमाल, राप्रपाका अध्यक्ष देवी दाहाल, माओवादीका पवन चौधरी, एकीकृत समाजवादीका चन्द्र भट्टराई, एमालेका गंगाप्रसाद बास्तोला, सशस्त्र प्रहरीका निरीक्षक मनोज निरौला, इलाका प्रहरी उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा लगायतले बिभिन्न सुझावहरु दिएका थिए । उनीहरुले आयोजकले व्यवस्थापनमा चुक्न नहुने, सुरक्षा योजनालाई व्यवस्थित बनाउनु पर्ने, पर्यटक भित्र्याउनका लागि बिशेष पहल गर्नुपर्ने, बिभिन्न जात जातिको पहिचान झल्काउने कार्यक्रमहरु प्रस्तुत गरिनुपर्ने, जुवाजन्य खेल र मादक पदार्थ राख्नु नहुँने, सीमसार अवलोकनको व्यवस्थापन गर्नुपर्ने, उर्लाबारी पुन आउने वाताबरण तय गर्नुपर्ने जस्ता सुझाव दिएका छन् ।
उर्लाबारीमा यस पटक महोत्सवलाई भव्यताका साथ सफल पार्न संघले आफ्नो तयारी तिब्र पारेको महोत्सव कार्यक्रमका संयोजक एवम् संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिएका छन् । उनले यस महोत्सवमा ४०/४५ वटा राष्ट्रिय उद्योगहरुको स्टल आउने, सीसी क्यामराको निगरानी हुने, उर्लाबारी ४ मा महोत्सव लगाइने जानकारी दिएका छन् । संघका अध्यक्ष तथा महोत्वसब मुल समितिका संयोजक शेरबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठक महासचिव हेमराज गुरुङले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: २०२३-०१-०४ , समय : ०६:२७:०३ , ३ वर्ष अगाडि