१११ वर्षको उमेरमा ठमठम हिड्दै महेश्वरा

Enepal Patra Pvt. Ltd. , २४७७  पटक हेरिएको


सुन्दरहरैंचा(मोरङ),७ पुस । सुन्दा पत्याउन गाह्रो । तर,मोरङको सुन्दरहरैंचा ६ गोठगाउँकी १११ वर्षीय महेश्वरा अधिकारी अझै पनि ठमठम हिडिरहनु भएको छ ।
शरीरमा कुनै रोग छैन् । पनाति , नाति र छोरा बुहारीका लागि पाकेको एउटै भाडाको खानामा खानुहुन्छ ,महेश्वरा । केही दिन यता उहाँलाई पुसको चिसोले सताएको छ । त्यसैले उहाँ बाहिर कमै निस्किनु हुन्छ । तर, घाम लागेको दिन भने उहाँ घरमा बसिरहन मन पराउनु हुन्न । घरका साना तिना काम पनि सघाउन तम्सिनु हुन्छ । दिनमा मात्र होइन, रात साँझमा पनि अरु कसैको सहारा बिनै शौचालय जानु हुन्छ ।
उहाँका ४ छोरा,२ छोरी १० नाति,४ नातिनि, १५ पनाति,१६ पनातिना,६ जनाति र ७ जनातिना रहेकाछन् । ६४ जनाकी अभिभावक महेश्वराका आफू भन्दा जेठा र समकालिन कोही पनि जीवित छैनन् । उमेर छिपिदै गएकोले उहाँको श्रवणशक्ति भने कमजोर हुँदै गएको नाति खेमचन्द्र अधिकारीले बताउनु भयो । महेश्वराको जन्म भोजपुर जिल्लाको हालको अरुण गाउँपालिका वार्ड नं.६ माग्दिनमा १९६५ साल माघ ५ गते चन्द्रलाल आचार्य र जानुका आचार्यको छोरीको रुपमा भएको हो ।
उहाँले धनकुटा जिल्लाको तत्कालिन चानुवा गाउँ पञ्चायतबाट २०४२ साल माघ १० गते नागरिकताको प्रमाणपत्र लिनु भएको हो । त्यसबेला उहाँ ७७ वर्षको हुनुहुन्थ्यो । महेश्वराका श्रीमान छविलालको २०४७ सालमा निधन भएको हो । दैनिकी सामान्य मानिसहरूले जस्तै बिताए पनि उहाँ होसका कुरा कुरा गर्नु हुन्छ । कति वर्षकी हुनुभयो भन्ने जिज्ञाषामा उहाँको जवाफ थियो , २५ वर्ष ।
नगर कै माताको रुपमा सुन्दरहरैचा नगरपालिकाले २०७५ साल असोज १५ गते सम्मान गरेपछि उहाँसँग भेट्न जानेको सङ्ख्या बाक्लिन थालेको नाति खेमचन्द्रले बताउनु भयो ।

प्रकाशित मिति: २०१९-१२-२३ , समय : ०७:४२:२९ , ४ वर्ष अगाडि