मोरङ क्षेत्र ३ मा ३१ जनाको उम्मेदवारी, १९ जना स्वतन्त्र उम्मेदवार

ईनेपालपत्र , ५०१  पटक हेरिएको

बेलबारी , २४ असोज । मोरङका ६ वटा प्रतिनिधिसभा क्षेत्रमा एक सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा, ४६ जना स्वतन्त्र उम्मेदवार छन् ।
क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर ३ मा ३१ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा, १० जना पार्टीका उम्मेदवार छन् । १९ जना स्वतन्त्र उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारी दिनेमध्ये अधिकतर नेपाली काङ्ग्रेसका कार्यकर्ता छन् । काङ्ग्रेसले सो क्षेत्रमा नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई टिकट दिएको छ । नेकपा (एमाले)ले भानभुक्त ढकाललाई टिकट दिएको छ । राप्रपाबाट नायिका रेखा थापाले मनोनयन दर्ता गरेकी छन् ।
क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट डिगबहादुर लिम्बू, एमालेबाट घनश्याम खतिवडासहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा, छ जना स्वतन्त्र उम्मेदवार छन् ।क्षेत्र नम्बर २ मा काङ्ग्रेसबाट सुजाता कोइराला, एमालेबाट ऋषिकेश पोखरेलसहित १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा, तीन जना स्वतन्त्र उम्मेदवार छन् ।
क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र)बाट अमनलाल मोदी र एमालेबाट विनोद ढकालले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर ४ मा जम्मा १७ जनाको उम्मेदवारी दर्ता गर्दा सात जना स्वतन्त्र उम्मेदवार छन् ।
क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल, जसपाका राजकुमार यादवसहित १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा, आठ जना स्वतन्त्र उम्मेदवार छन् ।
एमाले नेता योगेन्द्र मण्डलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ६ मा काङ्ग्रेसबाट शेखर कोइराला, एमालेबाट लालबाबु पण्डितसहित १६ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा, ३ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रकाशित मिति: २०२२-१०-१० , समय : ०७:३६:२८ , ३ वर्ष अगाडि