ईनेपालपत्र , ४४८ पटक हेरिएको
बिराटनगर १६ भदौ । प्रदेश नं. १ को एकमात्र प्रदेश स्तरिय अस्पताल विराटनगरमा रहेको कोशी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव नियुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई अस्पतालको निमित्त मेसुमा नियुक्त गरेको हो। लामो समदेखी कोशी अस्पतालमा कार्यरत डा. यादव अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन्।
पदीय जिम्मेवारी पाएपछि उनले अस्पतालमा देखिएका समस्यालाई सक्दो न्यून गर्नेतर्फ आफू केन्द्रित रहने प्रतिक्रिया दिए।
यसअघि गत वर्ष फागुनमा हाडजोर्नी विशेषज्ञ डा. यज्ञराज खरेललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवार दिइएको थियो।
सिनियर चिकित्सक हुदाँहुँदै जुनियरबाट खरेललाई नियुक्ति दिएकोमा अस्पतालभित्र असन्तुष्टि देखिएको थियो। दुवै चिकित्सक १० औँ तहको भए पनि यादव सिनियर हुन्।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका लागि ११ औँ तहको मेसुको दरबन्दी रहेको छ। यादव २०७१ सालदेखि कोशी अस्पतालमा कार्यरत छन्। कोभिड १९ महामारीको समयमा अग्रभागमा खटिएका यादवले अस्पतालको प्रवक्ताको जिम्मेवारी वहन गरिसकेका छन्।
प्रकाशित मिति: २०२२-०९-०१ , समय : १८:५२:२२ , ३ वर्ष अगाडि