स्वास्थ्यमन्त्रीलाई कालो झण्डा प्रदर्शन गर्ने युवाहरू पक्राउ

प्रशान्त निराैला , २४५  पटक हेरिएको

उर्लाबारी २९ साउन ।  अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्घाटनका लागि पुगेका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा प्रदर्शन गर्ने युवाहरू पक्राउ परेका छन् । आइतबार मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवाहरूले कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउने क्लबका अध्यक्ष पिपलराज गिरी, सचिव रेशु कटवाल, शेखर खड्का, प्रतिक पाण्डे र प्रदिप दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले उक्त ओपीडी भवन निर्माणमा अनियमितता भएकाले आयव्यय सार्वजनिक गर्न माग गर्दै आएका थिए । यसअघि क्लवले भवन निर्माणको सम्पूर्ण खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
अस्पतालले आयव्यय सार्वजनिक नगरेकाले उक्त भवन उद्घाटनमा पुगेका मन्त्री यादवलाई कालो झण्डा देखाएको युवा क्लबमा आवद्ध युवाहरूले बताए । उनीहरुले भवन निर्माणमा व्यापक अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: २०२२-०८-१४ , समय : १४:४५:३२ , २ वर्ष अगाडि