कानेपोखरीमा बन नियमावली जलाईयो

ईनेपालपत्र समाचारदाता , ३०४  पटक हेरिएको

उर्लाबारी,२८ साउन । वन नियमावलि २०७९ ले सामूदायिक वनका अधिकार कटौती गरेको भन्दै शुक्रबार सामूदायिक वन महासङ्घ कानेपोखरी गाउँपालिकाले नियमावलि जलाएको छ । सङ्घीय सरकारले असार १९ गते राजपत्रमा नयाँ बन नियमावलि सार्वजनिक गरेको थियो ।
मोरङको कानेपोखरी सव डिभिजन वन कार्यालय अगाडि सामूदायिक वन महासङ्घ कानेपोखरीका अध्यक्ष कृष्ण थामीले बन नियमावलि जलाउनु भएको हो । नियमावलि जलाउनु अघि स्थानीय शिवालय मन्दिरमा भएको बिरोध सभामा बोल्दै महासङ्घका प्रदेश १ का सचिव अग्नि पौडेलले मोरङमा ५५ हजार हेक्टर बन रहेकोमा २२ हजार हेक्टर बन मात्रै समूदायमा हस्तान्तरण गरेको बताउनु भयो । आधा भन्दा बढी बन क्षेत्र राज्यकै मताहतमा हुँदाहुँदै पनि सरकारले नियमावलि ल्याएर सामूदायिक बनसँग ५० प्रतिशत हिस्सा माग गर्नु समूदाय प्रतिको अविश्वास भएको बताउनु भयो । उहाँले २९ प्रतिशतमा घटिसकेको बनलाई ४३ प्रतिशत बनाउने बन अभियन्तालाई सरकारले अपमान गरेको उल्लेख गर्नुभयो ।
जिल्ला महासङ्घ मोरङका अध्यक्ष रामकृष्ण राईले सामूदायिक बनले महिलालाई नेतृत्वमा पु¥याउने कानून निर्माण गरेको बताउँदै त्यो कानूनमा समेत रोक लगाउने गरी नियमावलि आएको उल्लेख गर्नुभयो । यो नियमावलि कार्यान्वयन हुँन नदिने दाबी गर्दै आगामी निर्वाचनमा सबै नेतालाई नियमावलि संसोधन नभए भोट नदिन बन उपभोक्तासँग आग्रह गर्नुभयो । तराईका जनताको नाममा जिल्ला आपुर्ति समितिले सामूदायिक बनका अधिकार खोसेको उहाँको भनाई थियो ।
बन महासंघ कानेपोखरी गाउँपालिकाका अध्यक्ष कृष्ण थामीको सभापतित्वमा भएको कार्यक्रममा सामूदायिक बन महासंघ बेलबारीका अध्यक्ष देबी पोख्रेल ,उर्लाबारी नगर महासंघका सचिव यमकुमारी दाहाल र जिल्ला सल्लाहकार गङ्गा अधिकारीले बोल्नु भएको थियो । कार्यक्रममा स्थानीय ५ वटा सामूदायिक वनका उपभोक्ता , वन पदाधिकारी र बन अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०८-१३ , समय : १६:४९:३७ , २ वर्ष अगाडि