कानेपोखरी गाउँपालिकाले गुन्द्रुक, खीर र दुना ,टपरीलाई स्वरोजगारसँग जोड्ने

enepalpatra , ३३८  पटक हेरिएको

कानेपोखरी गाउँपालिकाको १२ औं गाउँसभामा अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे

मोरङ, १० असार । मोरङको कानेपोखरी गाउँपालिकाले ‘आमाको सीप सन्तानलाई अर्गानिक गुन्द्रक मोरङलाई’ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले आमाहरूको सीपलाई परिचालन गरी अर्गानिक गुन्द्रकमा मोरङलाई आत्मनिर्भर बनाउन बजेटको ब्यवस्था गरेको बताउनु भयो ।‘ हामी सबैको सान,कृषि उद्यममा किसान’ कार्यक्रम अन्र्तगत कानेपोखरीलाई तोरीको पकेट क्षेत्रका रुपमा बिकसित गरिने भएको छ । तोरी उत्पादन गर्ने र तेल पेल्ने उद्योग सञ्चालनका लागि गाउँपालिकाले सहकार्य भएको छ ।त्यस्तै साना साना पोखरी निर्माण गरी माछापालन कार्यक्रम सञ्चालन गर्न ‘आफ्नै वारी अर्गानिक पोखरी ’कार्यक्रम सञ्चालन गरिने भएको छ ।
कानेपोखरीको खीर प्रबद्र्धनका लागि ‘कानेपोखरीकोे खीर, गुणस्तरमा छैन पीर’कार्यक्रम ल्याइने भएको छ । ३ दशक अघि सम्म पूर्व पश्चिम राजमार्गको कानेपोखरी हुँदै गुड्ने सवारी साधनको खाजा खाने चौक कानेपोखरी थियो । बिस्तारै खीर ओझेलमा पर्दै गएपछि गाउँपालिकाले खीर प्रबद्र्धन कार्यक्रम ल्याएको हो । खीरसँगै दूध उत्पादन पनि जोडिएकोले यो कार्यक्रमले किसान र होटल ब्यावसायिलाई जोड्ने बताइएको छ ।
यसैगरी ‘कानेपोखरीका महिला ,टपरी उत्पादनमा पहिला’ कार्यक्रम सञ्चालन गरी घरमा काम गर्ने गृहणीहरूलाई उत्पादनमा जोडिने भएको छ । जसले पर्यावरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्लाष्टिकजन्य सामग्रीको उपयोगलाई न्यूनीकरण गर्ने अभियानको सुरुवात यही कार्यक्रमले गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा ‘मैले तिरेको कर गाउँपालिको भर’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रत्येक वडामा वर्षभरि सर्वाधिक कर तिर्ने करदाताको फोटो सबैले देख्ने गरि स–सम्मान राखिने छ ।‘उद्यमसँगै जनजीविका ,प्याड उत्पादनमा स्वयंसेविका कार्यक्रम सञ्चालन गरिने छ । गाउँपालिकाले अति विपन्न परिवारको पहिचान गरि त्यस्ता परिवारका सदस्यको मृत्यु हुँदा ५ हजार नगद सहयोग गर्ने भएको छ ।
‘म फोहोरको वर्गीकरण गर्छु,हामी फोहोरको ब्यवस्थापन गर्छौं’ कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । सकेसम्म घर भित्रै फोहोरको वर्गीकरण गर्ने विशेष कार्यक्रम ल्याइने छ । नीति तथा कार्यक्रममा प्रत्येक वडामा ५ वर्ष भित्र ड्रेन सहितको स्तरीय ४/५ किलोमिटर सडक निर्माण गरिने उल्लेख गरिएको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङनामको अध्यक्षतामा भएको १२ औं गाउँसभामा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले ५७ करोड ५२लाख ३८हजार रुपियाँको अनुमानित आयब्यय (बजेट) प्रस्तुत गर्नुभयो ।
आय तर्फ बित्तीय समानीकरण अनुदान (संघीय सरकार) १४ करोड ५७ लाख,राजश्व बाँडफाँट (संघीय सरकार) बाट ९ करोड ८७ लाख ३५ हजार बित्तीय समानीकरण अनुदान (प्रदेश सरकार)बाट ८० लाख १५ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी नेपाल सरकारको रोयल्टी बाँडफाँटबाट ५ लाख ,घरजग्गा रजिष्ट्रेसनबाट १ करोड ५० लाख,दहत्तर बहत्तर प्रदेश सरकारबाट १ करोड र गत बैक मौज्दात सहित आन्तरिक आम्दानी २ करोड ४४ लाख ९६ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी संघीय सरकार र प्रदेश सरकारको ससर्त अनुदान ,संघीय सरकार र प्रदेश सरकारको समपुरक अनुदान र संघीय सरकारको विशेष अनुदान २६ करोड २७ लाख ६२ हजार गरी कुल ५७ करोड ५२लाख ३८हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै गाउँपालिकाको चालु खर्च तर्फ ७ करोड २५ लाख,आर्थिक विकास तर्फ ३ करोड ७ लाख ५० हजार , सामाजिक विकास तर्फ ६ करोड ६६ लाख ७६ हजार ,पूर्वाधार विकास तर्फ ८ करोड १ लाख , विपद ब्यवस्थापन र वातावरणका लागि १ करोड ६७ लाख रुपियाँ , संस्थागत विकास तथा सेवा प्रवाहका लागि १ करोड १५ लाख र ७ वटै वडाका लागि ३ करोड ५६ लाख रुपियाँ विनियोजन गरिएको छ । यस्तै नेपाल सरकार र प्रदेश सरकारले दिने ससर्त र समपुरक अनुदानको २६ करोड २७ लाख ६२ हजार तत् शीर्षकमा खर्च हुने गरी बजेट ब्यवस्थापन गरिएको छ ।

                                     लेटाङको बजेट  ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८०
उत्तरी मोरङको लेटाङ नगरपालिकाको एघारौँ नगरसभामा उपप्रमुख कृष्णकुमारी निरौलाले ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८० रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । सो मध्ये आन्तरिक राजस्व मार्फत् १३ करोड १४ लाख ४५ हजार, संघीय राजस्व बाँडफाँड १० करोड ७९ लाख ९५ हजार प्राप्त हुने अनुमान गरिएको छ । नगर प्रमुख भूपेन्द्र लावतीकोे अध्यक्षतामा भएको नीति तथा कार्यक्रम र बजेट आज पारित हुने भएको छ ।

              सुन्दरहरैचा नगरपालिकामा १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपियाँको बजेट

उता सुन्दरहरैचा नगरपालिकामा उप प्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपियाँको बजेट प्रस्तुत गर्नु भएको छ । दशौं नगरसभामा पेश भएको बजेटमा प्रत्येक वडालाई १ करोड ५३ लाख रुपियाँ दरले सिलिङ तोकिएको छ । चौधरीले सामाजिक विकासका लागि ७ करोड ९४ लाख ४४ हजार ८ सय १७ रुपियाँ विनियोजन गर्नु भएको छ । प्रस्तावित नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन सहित विभिन्न १७ उपशीर्षकमा न्यूनतम २५ लाख रुपियाँ देखि अधिकतम १ करोड ९८ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । त्यस्तै, आर्थिक विकासतर्फ जम्मा १ करोड ९० लाख ७६ हजार रुपियाँ विनियोजन भएको छ । वातावरण तथा विपद व्यवस्थापन शीर्षकमा ३ करोड ४५ लाख रुपैयाँ विनियोजन भएको छ ।
सुशासन तथा संस्थागत विकास शीर्षकमा २५ करोड २ लाख ३७ हजार १ सय ३७ रुपियाँ छुट्ट्याइएको छ । पूर्वाधार विकासतर्फ २९ करोड ७३ लाख ५० हजार रुपियाँ विनियोजन भएको छ ।

                             उर्लाबारी नगरपालिकाले  ल्यायो  ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपियाँको बजेट 
उता उर्लाबारी नगरपालिकाले ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपियाँको अनुमानित आय ब्यय सार्वजनिक गरेको छ । नगर उप प्रमुख मीना खतिवडाले आगामी आर्थिक बर्षको आयतर्फ आन्तरिक आम्दानी रु. ७ करोड ५५ लाख ५३ हजार, संघीय सरकार राजस्व बाँडफाँड तर्फ रु. ११ करोड ३२ लाख ४७ हजार, संघिय सरकार वित्तीय समानिकरण तर्फ रु. १८ करोड रुपियाँ आम्दानी हुने बजेट प्रस्तुत गर्नुभयो ।

यस्तै वित्तिय समानिकरण प्रदेश सरकार तर्फ रु. १ करोड ७ हजार ५ सय, सवारी साधन कर बाँडफाँड प्रदेश सरकार तर्फ रु. १ करोड, सडकबोर्ड बाट प्राप्त हुने रकम रु. ५० लाख, संघीय सरकार सशर्त अनुदान तर्फ रु. ४० करोड १७ लाख, प्रदेश सरकार सर्शत अनुदान तर्फ रु. ४० लाख २० हजार, रजिष्ट्रेशन बाडफाडबाट रु. ५ करोड ७६ लाख ११ हजार ७ सय ७०, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, संघीय सरकार संस्थागत आन्तरिक तर्फ रु. १ लाख ८० हजार ६ सय ८७, संघीय सरकार वन रोयल्टी रु. २० लाख, प्रदेश सरकार समपूरक अनुदान तर्फ रु. १ करोड, जनसहभागिता तर्फ रु. १ करोड ५० लाख र आ.व. २०७८/०७९ को मौज्दात तर्फ रु. ९ करोड ९ लाख ३५ हजार २३ गरी जम्मा ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै चालू तथा प्रशासनिक खर्च तर्फ रु. १४ करोड ९६ लाख ८७ हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम रु. १ करोड, नगरपालिकाको समपूरक कोष तर्फ १ करोड ५० लाख, भवन निर्माण तर्फ २ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरु तर्फ ६ करोड ६५ लाख, विपद् व्यवस्थापन कोषमा रु. १ करोड, आकस्मिक कोषमा रु. २५ लाख, मर्मत सम्भार कोषमा रु. १ करोड २५ लाख, नगरपालिकाका विषय क्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम रु. २९ करोड ८३ लाख ४७ हजार ९ सय ८० गरी कुल खर्च रु. ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरेको छु । जसमध्ये कूल चालु खर्च तर्फ ४३ करोड ३७ लाख ४२ हजार ९ सय ८० रुपियाँ अर्थात कुल खर्चको ४३.५८ प्रतिशत र पूँजिगत खर्च तर्फ ५६ करोड १५ लाख १२ हजार अर्थात कुल खर्चको ५६.४२ प्रतिशत हुने अनुमान गरिएको छ ।

                        पथरीशनिश्चरे नगरपालिकाको बजेट १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ 

यस्तै पथरीशनिश्चरे नगरपालिकाले १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उप प्रमुख देवीमाया काफ्लेले चालु खर्च तर्फ १७ करोड ३७ लाख ५६ हजार ४० रुपियाँ र पुँजीगत तर्फ १ अर्ब ९ करोड ७४ लाख ८५ हजार ४ रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०२२-०६-२४ , समय : १९:५४:३५ , २ वर्ष अगाडि