Enepal Patra Pvt. Ltd. , ६५२ पटक हेरिएको
विराटननगर, १६ असोज : बलात्कारविरुद्ध ‘मौनता तोडौं’ अभियान देशव्यापी रुपमा सुरु गरिएको छ ।
विश्व अहिंसा दिवस अक्टोबर २ को अवसर पारेर शुक्रबार प्रदेश १ को राजधानी विराटनगरमा मानवअधिकारकर्मीहरुले बलात्कार तथा लैङ्गिक हिंसाको अन्त्य तथा प्रभावितहरुको आत्मसम्मान सहितको न्यायका लागि माग गरेका हुन् ।
प्लेकार्डसहित सहभागी भएका अधिकारकर्मीहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडि एकघण्टा प्लेकार्डसहित धर्ना दिएका छन् ।
उनीहरुले दैनिक ७ वटा बलात्कार, बलात्कारपछि हत्या, बन्दावन्दीको समयमा लैङ्गिक हिंसाका कारणले ४७ महिलाको हत्या भएका घटना सार्वजनिक गर्दै महिला तथा बालिकामाथि हुने हिंसाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आयोजक संस्था महिला पुनस्र्थापना केन्द्र (ओरेक) विराटनगरले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छ ।
पत्रमा बलात्कार तथा लैङ्गिक हिंसाका बारेमा जनचेतना, अहिंसा नहुने वातावरण, प्रभावितको सामाजिक न्याय तथा कानुनी न्यायको अधिकार सुनिश्चितताको माग गरिएको ओरेककी प्रतिनिधी गोमा भण्डारीले बताइन् ।
शुक्रबारदेखि देशव्यापी रुपमा सुरु भएको उक्त अभियानलाई आगामी डिसेम्बर १० सम्म जारी राखिने जानकारी दिइएको छ ।
प्रकाशित मिति: २०२०-११-०४ , समय : १८:१७:१६ , ५ वर्ष अगाडि