ईनेपालपत्र संबाददाता , ८ पटक हेरिएको
काठमाडौं, १० कात्तिक। महोत्तरीमा सीमा सुरक्षा तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ।
पछिल्लो सात महिनाको अवधिमा एकल तथा संयुक्त कारबाहीबाट साढे ४ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ। सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निगरानी र गस्तीलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसै क्रममा महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित खत्वे टोलबाट भारतबाट भन्सार छली गरी ल्याइएको आशङ्कामा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरीका डीएसपी गणेशदत्त पाण्डेयको कमान्डमा खटिएको सात सदस्यीय गाडी मोबाइल टोलीले गत आइतवार उक्त सामग्री नियन्त्रणमा लिएको हो।
बरामद गरिएका मोटरसाइकल तथा कपडाको अनुमानित मूल्य ६ लाख ७२ हजार रुपैयाँ रहेको जनाइएको छ। नियन्त्रणमा लिइएका सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
सात महिनामा करोडौँको सामान नियन्त्रणमा
मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआईजी विष्णु भट्टका अनुसार २०८२ चैत १ गतेदेखि २०८३ कात्तिक ८ गतेसम्म सञ्चालन गरिएका विभिन्न एकल तथा संयुक्त अभियानबाट कुल ४ करोड ६९ लाख ८१६ रुपैयाँ ८० पैसा बराबरका सामग्री बरामद गरिएको छ।
प्राप्त विवरण अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर रघुनाथपुरले एकल कारबाहीमार्फत ४७ लाख ५ हजार ६३८ रुपैयाँ २० पैसा मूल्यका सामान नियन्त्रणमा लिएको छ। त्यस्तै, गणसँगको संयुक्त अभियानबाट २ करोड ५५ लाख ९० हजार रुपैयाँ बराबरका सामग्री बरामद भएको विवरणमा उल्लेख छ।
गुल्म तथा मातहतका सीमा सुरक्षा पोस्ट (बीओपी) बाट गरिएको बरामदीको छुट्टै विवरणमा ९७ लाख ७४ हजार १७८ रुपैयाँ ६० पैसा बराबरका सामान समेटिएका छन्। यी तथ्यांकले सीमा क्षेत्रमा अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले विभिन्न तहमा प्रभावकारी परिचालन र कारबाही अघि बढाएको देखाउँछ।
सीमा सुरक्षासँगै सामाजिक सेवामा पनि योगदान
सीमा सुरक्षा गुल्म हेडक्वार्टर रघुनाथपुरले अवैध कारोबार नियन्त्रण र राजस्व संरक्षणसँगै सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन सामाजिक गतिविधिलाई समेत प्राथमिकता दिएको छ।
‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत १६ जना अशक्त व्यक्तिलाई ह्वीलचेयर वितरण गरिएको छ। त्यसैगरी, गुल्मले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी बिरामीले स्वास्थ्य परीक्षण तथा औषधोपचार सेवा प्राप्त गरेका छन्। सुरक्षा निकायको यस किसिमको पहलले सीमा क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुर्याउनुका साथै प्रहरी र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
बरामदीसँगै तस्करीको सञ्जालमा प्रहार आवश्यक
मधेश प्रदेशको नेतृत्व डीआईजी विष्णु भट्टले सम्हालेपछि भन्सार छली, अवैध सामान ओसारपसार तथा सीमावर्ती आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ।
सीमा क्षेत्रमा नियमित गस्ती, भरपर्दो सूचना सङ्कलन, सम्बन्धित निकायबीचको समन्वय र स्थानीय नागरिकसँगको सहकार्यलाई निरन्तरता दिन सके अवैध कारोबार नियन्त्रण थप प्रभावकारी बन्ने देखिन्छ।
प्रकाशित मिति: २०२६-१०-२७ , समय : ११:०८:२४ , २ घन्टा अगाडि