ईनेपालपत्र संबाददाता , ८ पटक हेरिएको
सञ्जय मिश्रा/न्युज कारखाना
रौतहट १० कार्तिक। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्काले आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्याउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको भन्दै कडा आपत्ति जनाएका छन्। उनले लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमवार अनजारी गरेको प्रेस विज्ञप्तिमार्फत एसपी खड्काले हंसपुर नगरपालिका–८, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
प्रहरीका अनुसार यादवले गत भदौ १७ गते परिवारकी एक महिला सदस्य हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।
तर, अनुसन्धानका क्रममा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भएको र भदौ १४ गते आफ्ना पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले सम्बन्धित महिला र उनका परिवारका सदस्यबीच प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाण देखाएर घटनाको वास्तविकताबारे जानकारी गराएको दाबी गरेको छ।
पक्राउ गरेर छुटाइदिन दबाब दिएको प्रहरीको दाबी
विज्ञप्तिअनुसार यादवले महिलाको मञ्जुरीबिना विवाह भएको भन्दै उनलाई र उनका पतिलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन प्रहरीमाथि दबाब दिएका थिए। मागअनुसार काम नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत दिएको प्रहरीको दाबी छ।
गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोधस्वरूप आफूविरुद्ध अनर्गल र तथ्यहीन आरोप लगाइएको एसपी खड्काको भनाइ छ।
उनले प्रहरीको व्यावसायिकता र आफ्नो व्यक्तिगत मर्यादामाथि प्रहार गर्ने उद्देश्यले द्वेषपूर्ण टिप्पणी गरिएको भन्दै त्यसको निन्दा गरेका छन्।
सामाजिक सञ्जालमा भ्रम नफैलाउन आग्रह
एसपी खड्काले आफूमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै तथ्य र प्रमाणबिना कसैको प्रतिष्ठामा आँच पुर्याउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा समेत सत्यतथ्य नबुझी सामग्री सेयर नगर्न र भ्रममा नपर्न उनले सर्वसाधारणलाई अनुरोध गरेका छन्। जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी विषयमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-२७ , समय : ११:०५:५३ , २ घन्टा अगाडि