महँगिए खसीबोका

ईनेपालपत्र संबाददाता , १०  पटक हेरिएको

चन्द्र पन्दाक

ताप्लेजुङ,१ कात्तिक। ताप्लेजुङमा खसीबोकाको मूल्य आकासिएको छ । चाडपर्वको मौका पारेर स्थानीय विक्रेताले खसीबोकाको मूल्य बढाएका हुन् । प्रतिकिलो एक हजार रुपियाँभन्दा माथिसम्म मूल्य पर्ने गरी विक्रेताले खसीबोकाको मोलमोलाइ गर्ने गरेका छन् ।

दसैँ भित्रिएसँगै सदरमुकाम फुङलिङ बजारमा खसीबोका महँगिएको हो । फुङलिङस्थित तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा महँगो मूल्यमा खसीबोकाको खरिदबिक्री भएको छ । दसैँको मौका पारेर व्यापारीले खसीबोकाको मूल्य महँगो कायम गरेका उपभोक्ताले बताएका छन् ।

दसैँका लागि मासु र पूजामा बलि चढाउनलाई उपभोक्ताले हाटबजारमा खसीबोका खरिद गर्छन् । यता व्यापारी तथा पशुपालक किसानले पनि चाडपर्वका समयमा बिक्री गर्न समस्या नहुने र राम्रो मूल्य पाइने भन्दै गाउँका किसान तथा व्यवसायीले हाटमा पु(याएर खसीबोका बिक्री गर्ने गरेका छन् । परम्परा जस्तै बनेको हाटबजारमा खसीबोका खरिदबिक्री गर्ने कार्य कायम रहेको र विगतको तुलनामा यो वर्ष मूल्य महँगिएको उपभोक्ताको भनाइ छ ।

फुङलिङ नगरपालिका–५ का स्थानीय विक्रम लिम्बूका अनुसार हाटबजारमा विक्रेताले खसीबोकाको मूल्य निकै बढाएका छन् । विगतका वर्षमा १० हजार रुपियाँसम्म परेको खसीलाई यस वर्ष १२ देखि १४ हजार रुपियाँसम्म परेको लिम्बूले बताउनुभयो । मोलमोलाइ गरेर खसीबोका खरिदबिक्री गर्ने चलन रहेको र यस वर्ष मोलमोलाइ गरी विक्रेताले निकै महँगो मूल्य कायम गरेका उहाँले बताउनुभयो ।

अर्का उपभोक्ता चन्द्र भण्डारीले पनि विगतभन्दा यस वर्ष खसीबोकाको मूल्य निकै महँगो बनाइएको बताउनुभयो । खसीबोका खरिद गर्ने थलोका रूपमा रहेको शनिबारे हाटमा यस वर्ष स्थानीय व्यापारी तथा किसानले खसीबोका र पाठापाठीको मूल्य महँगो गरेका भण्डारीले बताउनुभयो । उहाँले प्रतिकिलो एक हजार रुपियाँभन्दा माथिसम्म मूल्य पर्ने गरी विक्रेताले खसीबोकाको मोलमोलाइ गर्ने गरेका बताउनुभयो । उहाँहरू जस्तै अन्य उपभोक्ताले पनि यसपालि खसीबोकाको मूल्य महँगिएको बताएका छन् ।

प्रकाशित मिति: २०२६-१०-१८ , समय : १२:२४:११ , २ घन्टा अगाडि