हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

ईनेपालपत्र संबाददाता , ८  पटक हेरिएको

न्यूज कारखाना

रौतहट, २५ असोज । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या गरेको आरोप लागेका व्यक्तिसँग हतियार प्रदर्शन गर्दै टिकटक र रिल्स बनाएको विषयमा एक सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान सुरु भएको छ ।

अनुसन्धानको दायरामा तानिएका जवान ऋषि मण्डलले हत्या आरोपी इर्साद खानसँग केही महिनाअघि बनाएका भिडियोमा हिंसात्मक अभिव्यक्ति र अभद्र व्यवहार देखिएको आरोप छ । सार्वजनिक भिडियोमा खानले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै गालीगलौजसहित हिंसा गर्ने चेतावनी दिएको सुनिन्छ । उक्त दृश्यमा जवान मण्डल पनि सँगै देखिएका छन् ।

हालै जनकपुरधाममा भएको छुरा प्रहारको घटनामा खानको नाम जोडिएपछि उनीसँग जवान मण्डलले बनाएका पुराना भिडियो पनि चर्चामा आएका हुन् । यससँगै सुरक्षाकर्मीको आचरण र हिंसात्मक गतिविधिसँगको सम्बन्धबारे प्रश्न उठेको छ ।
बिहीबार साँझ जनकपुरधाममा भएको छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका–५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो । घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् ।

प्रहरी अनुसन्धानअनुसार घटनामा संलग्न भएको आरोप लागेका इर्साद खानलाई स्थानीयस्तरमा ‘गुण्डा’ भनेर चिनिने गरेको बताइएको छ । उनीसँग सशस्त्र प्रहरी जवान मण्डलले बनाएका भिडियोमा देखिएका गतिविधिलाई लिएर अनुसन्धान अघि बढाइएको हो ।

हत्याको आरोप लागेका व्यक्तिसँग सुरक्षाकर्मीले हतियार प्रदर्शनसहितका भिडियो बनाएको विषयले प्रहरी संगठनको अनुशासन र जिम्मेवारीमाथि समेत प्रश्न खडा गरेको छ । यद्यपि, भिडियोमा देखिएको आधारमा मात्रै जवान मण्डलको संलग्नता वा दोष पुष्टि हुने छैन । अनुसन्धानबाट घटनाको वास्तविकता र उनको भूमिकाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०२६-१०-११ , समय : १८:१६:३६ , ३ घन्टा अगाडि