पाँच वर्षीया बालिकामाथि करणी प्रयास गरेका खलासीमाथि मुद्दा दर्ता

Enepal Patra Pvt. Ltd. , ७  पटक हेरिएको

सञ्जय मिश्रा/न्युज कारखाना
रौतहट, १६ असोज । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेको र जबरजस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका खलाँसीविरुद्ध मुद्दा दर्ता भएको छ।

कटहरिया नगरपालिका–५ का हरदेव यादवका २२ वर्षीय छोरा सर्विन यादवविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा बिहीबार जाहेरी परेपछि प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको हो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार पक्राउ परेका यादवलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

प्रहरीका अनुसार यादव कटहरियास्थित द ड्रीम एकेडेमीको स्कुल बसमा खलाँसीको काम गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार बुधबार बिहान विद्यालयमा अध्ययनरत दाजुलाई टिफिन पुर्‍याउन पुगेकी बालिकालाई यादवले विद्यालय परिसरबाट बाहिर बोलाएर नजिकैको खाली छाप्रोमा लगेका थिए।

त्यहाँ बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिका त्यहाँबाट उम्किएर घर पुगेपछि आमालाई घटनाबारे जानकारी गराएकी थिइन्।

घटनापछि परिवारले विद्यालयमा जानकारी गराउँदा घटना सार्वजनिक नगर्न दबाब दिइएको आरोपसमेत लगाएको छ। यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाबाट वरिष्ठ सई जयप्रकाश साहको नेतृत्वमा प्रहरी टोली विद्यालय पुगेको थियो। प्रहरीले विद्यालय परिसर र घटनास्थलको निरीक्षण गर्नुका साथै सीसीटीभी फुटेजसमेत जाँच गरेको थियो।

प्रहरीका अनुसार प्राप्त सीसीटीभी फुटेजमा यादवले बालिकालाई विद्यालय परिसरबाट नजिकैको छाप्रोतर्फ लैजाँदै गरेको देखिएको छ। त्यसपछि प्रहरीले यादवलाई विद्यालय परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि बुधबार साँझ इलाका प्रहरी कार्यालय गरुडामा बुझाइएको थियो। बालिकाको स्वास्थ्य परीक्षण गरिसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०२ , समय : १५:३४:०१ , २ घन्टा अगाडि