राजारानी सडक निर्माणले गति लियो, असोजभित्र कालोपत्रे सक्ने लक्ष्य

ईनेपालपत्र संबाददाता , ४  पटक हेरिएको

लेटाङ, २७ भदौ । मोरङको लेटाङ–राजारानी–साग्मा डाँडा सडकअन्तर्गत लेटाङ–१ राजारानी जोड्ने सडक निर्माणले पछिल्लो समय गति लिएको छ। सडक डिभिजन कार्यालय विराटनगरका अनुसार आयोजनाको हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ भने थपिएको म्यादभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

मदन भण्डारी राजमार्गको लेटाङ–२ किरात चौकदेखि लोखरासम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी चुरे क्षेत्रमा सडक निर्माण तथा अन्य संरचनाको काम तीव्र गतिमा भइरहेको छ। ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत २०७९ वैशाख १९ गते ठेक्का लागेको ५ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि ११ करोड ३२ लाख २ हजार ५८१ रुपैयाँमा कालिका/मेदान्सी जेभी काठमाडौंसँग सम्झौता भएको थियो। सम्झौताअनुसार २०८१ चैत ३० गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा निर्माण पूरा हुन सकेको थिएन।

सडक डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनियर नारायणप्रसाद निहुरेका अनुसार आयोजनाको वित्तीय प्रगति करिब साढे ३० प्रतिशत पुगेको छ। सडकको कालोपत्रे चौडाइ ७ मिटर र शोल्डरसहित कुल चौडाइ १० मिटर रहनेछ। सडकमा रिटेनिङ वाल, ब्रेस्ट वाल, नाली, सब–बेस, बेस तथा अस्फाल्टका साथै डेलिनेटर पोस्ट, क्र्यास ब्यारियर र थर्मोप्लास्टिक रोड मार्किङलगायतका संरचना निर्माण गरिनेछ।

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले लामो समय रोकिएको सडक निर्माण पुनः तीव्र गतिमा अघि बढेपछि राजारानी क्षेत्रको पर्यटन विकासमा आशा पलाएको बताउनुभयो। नगरपालिकाले राजारानी पोखरी, राजकुमारी पोखरी, सुनाखरी अध्ययन केन्द्र र अन्तरधार्मिक शान्तिपार्कलगायत पर्यटकीय गन्तव्य विकास गरिरहेको जनाउँदै उहाँले सडक स्तरोन्नतिले पर्यटकको आवागमन अझ सहज हुने बताउनुभयो। उहाँका अनुसार राजारानी क्षेत्रमा दैनिक करिब चार सय आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

प्रकाशित मिति: २०२६-०९-१२ , समय : ११:१८:४४ , १ घन्टा अगाडि