निरोज ढकाल , १० पटक हेरिएको
सुन्दरहरैंचा-७, मोरङ ।मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले विद्यालयसँग सम्बन्धित घटनाबारे भइरहेको छानबिनलाई निष्पक्ष रूपमा अघि बढ्न दिन तथा सामाजिक सञ्जालमा आधारहीन आरोप–प्रत्यारोप नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
विद्यालयले जारी गरेको विज्ञप्तिमा २०८३ साउन २ गतेयता S/K/N Confession & Meme नामक सामाजिक सञ्जाल समूहमार्फत विद्यालयका गतिविधिसम्बन्धी विभिन्न सामग्री सार्वजनिक भएपछि विद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयले शिक्षक तथा कर्मचारीका कमी–कमजोरी औँल्याएर सुधारमा सहयोग पुर्याएको भन्दै उक्त समूहलाई धन्यवादसमेत दिएको छ।
विद्यालयका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि आरोपित शिक्षक–कर्मचारीलाई तत्काल निलम्बन गरिएको छ भने सम्बन्धित निकायबाट अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ। दोषी प्रमाणित हुनेलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्ने विद्यालयको धारणा छ।
तर छानबिन जारी रहेकै अवस्थामा सामाजिक सञ्जालमार्फत निर्दोष शिक्षक–कर्मचारीमाथि समेत आधारहीन आरोप लगाउने, मनोबल गिराउने तथा विद्यालयको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि भइरहेको भन्दै विद्यालयले चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिले छानबिन प्रक्रियामा समेत असर पार्न सक्ने भएकाले संयमता अपनाउन आग्रह गरिएको छ।
विद्यालयले शिक्षण, प्रशासन वा अन्य विषयमा कुनै गुनासो भए सुरक्षित रूपमा विद्यालय प्रशासन, गुनासो सुनुवाइ समिति, विद्यालय व्यवस्थापन समिति, नगरपालिका शिक्षा शाखा वा स्थानीय प्रहरी प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ। यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा प्रतिनिधिसहित पाँच सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरिएको पनि जनाएको छ।
करिब ५,२०० भन्दा बढी विद्यार्थी अध्ययनरत र १७८ शिक्षक–कर्मचारी कार्यरत सुकुना माध्यमिक विद्यालयले अभिभावक, स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालालाई धैर्यधारण गर्दै विद्यालय सञ्चालनपछि विद्यार्थीलाई निर्धक्क रूपमा पठनपाठनमा सहभागी गराउन सहयोग गर्न अपिल गरेको छ।
प्रकाशित मिति: २०२६-०७-२३ , समय : ०९:४१:२३ , ३ घन्टा अगाडि