निरोज ढकाल , ८ पटक हेरिएको
लेटाङ-२४, असार। सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै लेटाङ जेसिसले मोरङको लेटाङ नगरपालिका–३ स्थित आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई विद्यालय पोसाक (ट्र्याकसुट) वितरण गरेको छ। नगरको केन्द्रभागमै रहेको विद्यालय भए पनि अधिकांश विद्यार्थी निम्न आयस्रोत भएका परिवारबाट आउने भएकाले उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले असार २४ गते विद्यालय परिसरमै विशेष कार्यक्रम आयोजना गरी पोसाक हस्तान्तरण गरिएको हो।
नेपाल ख्रीस्टियन बाल शिक्षा संगती, ललितपुर तथा रेड रोज लेटाङको सहयोगमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरू नयाँ पोसाक पाएपछि निकै उत्साहित देखिएका थिए। विद्यालयमा अध्ययनरत धेरै बालबालिकाका अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले विद्यालय पोसाक खरिद गर्नसमेत कठिनाइ हुने अवस्था रहेको विद्यालयले जनाएको छ। यस्तै आवश्यकता पहिचान गर्दै लेटाङ जेसिसले विभिन्न सहयोगी संस्थासँग समन्वय गरी बालबालिकाको शिक्षामा प्रत्यक्ष टेवा पुग्ने कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका–३ का वडा अध्यक्ष डम्बर राईले समाजका कमजोर वर्गका बालबालिकालाई सहयोग गर्नु सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गरे। उनले बाइबलको शिक्षाले पनि “एउटा पनि बालबालिका नष्ट नहोस्” भन्ने सन्देश दिने भएकाले यस्ता मानवीय अभियान अत्यन्तै अनुकरणीय रहेको बताए। उनले भविष्यका कर्णधार बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याएको भन्दै लेटाङ जेसिस, नेपाल ख्रीस्टियन बाल शिक्षा संगती र रेड रोज लेटाङप्रति आभार व्यक्त गरे।वडा अध्यक्ष राईले सामुदायिक विद्यालयप्रति समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याउँदै अभिभावकले आफ्ना छोराछोरीको शिक्षामा अझ बढी चासो दिनुपर्ने बताए। “अहिले सामुदायिक विद्यालयको नतिजा धेरै ठाउँमा उत्कृष्ट बन्दै गएको छ। तर अझै पनि समाजमा निजी विद्यालयप्रतिको आकर्षण र सामुदायिक विद्यालयप्रतिको गलत धारणा कायम छ। परिवर्तनको कुरा गर्ने तर आफू परिवर्तन हुन नचाहने प्रवृत्तिले शिक्षा क्षेत्रलाई अपेक्षित उचाइमा पुग्न दिएको छैन,” उनले भने। सामुदायिक विद्यालयको गुणस्तरबारे सकारात्मक सन्देश समाजमा फैलाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
नेपाल ख्रीस्टियन बाल शिक्षा संगती, ललितपुरका क्षेत्रीय निर्देशक आकाश श्रेष्ठले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएकाले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षामा लगानी गर्नु सबैभन्दा प्रभावकारी सामाजिक सेवा भएको बताए। उनले बालबालिकालाई आवश्यक सहयोग उपलब्ध गराउन आगामी दिनमा पनि संस्थाले सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
लेटाङ जेसिसका संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठले जेसिसले स्थापना कालदेखि नै नेतृत्व विकाससँगै सामाजिक सेवालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे। समाजका विपन्न, असहाय तथा अवसरबाट वञ्चित बालबालिकालाई सहयोग गर्नु संस्थाको दायित्व भएको भन्दै उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइकाजी न्यौपानेले सहयोगी संस्था र लेटाङ जेसिसप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीमा पढाइप्रतिको उत्साह थप बढ्ने विश्वास व्यक्त गरे। उनले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न स्थानीय समुदाय, अभिभावक तथा विभिन्न संघसंस्थाको सहकार्य आवश्यक रहेको बताए।
विद्यालयका प्रधानाध्यापक विद्या लामिछानेले विद्यालयका विद्यार्थीमध्ये धेरैजसो आर्थिक रूपमा कमजोर परिवारका भएकाले सहयोग अत्यन्तै अर्थपूर्ण भएको बताइन्। उनले सहयोगी संस्था तथा लेटाङ जेसिसले देखाएको संवेदनशीलताले विद्यार्थी र अभिभावक दुवैलाई हौसला मिलेको उल्लेख गरिन्।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले नयाँ पोसाक ग्रहण गर्दा विद्यालय परिसर खुसी र उत्साहले भरिएको देखिन्थ्यो। कार्यक्रममा विद्यालयले सहयोगी संस्था नेपाल ख्रीस्टियन बाल शिक्षा संगती, ललितपुरलाई सम्मानस्वरूप धन्यवाद पत्र हस्तान्तरण गर्दै सहयोगप्रति आभार व्यक्त गरेको थियो।
हाल उक्त आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ। नगरको मुख्य क्षेत्रमा अवस्थित भए पनि विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका श्रमिक तथा निम्न आय भएका परिवारका रहेको विद्यालय प्रशासनको भनाइ छ। यस्ता सामाजिक सहयोगले विद्यार्थीको मनोबल बढाउनुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धि गर्न समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२६-०७-०८ , समय : ११:५२:०६ , २ घन्टा अगाडि