दुई वर्षदेखि अधुरो लाखबारी–गुवाबारी सडक, सुस्त निर्माणले बढायो जनगुनासो

निरोज ढकाल , १४  पटक हेरिएको

 

 

लेटाङ । लेटाङ नगरपालिका–६ स्थित लाखबारीदेखि गुवाबारीसम्मको करिब ५०० मिटर सडक खण्डको निर्माण कार्य सुरु भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि पूरा हुन सकेको छैन। कालेबुदुलि सडक आयोजनाअन्तर्गत पर्ने यस खण्डमा हालसम्म जाली लगाउने काम मात्र सम्पन्न भएको छ भने नाली (ड्रेन) निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ।

 

निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढ्दै गएको छ। आवश्यक जनशक्ति परिचालन नगरी सीमित संख्यामा कामदार खटाई कहिले काम हुने गरेको र कहिले नहुने गरेको आरोपसमेत स्थानीयवासीले लगाएका छन्। यस विषयमा स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवाला पक्षबाट पटक–पटक ध्यानाकर्षण गराइँदै आए पनि निर्माणको गतिमा कुनै पनि सुधार देखिएको छैन।

 

सडकमा निर्माण सामग्री राखिएका कारण आवागमन प्रभावित भएको छ साथै चर्को घाम लाग्ने गरेको, निर्माण सामग्री ओसारपसार गर्नको लागि ठूला सवारी साधनहरू आवतजावत गर्ने गरेको कारण उक्त सडकमा अत्यधिक धुलो उड्ने गरेकोले स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा यात्रुहरूलाई थप समस्या भइरहेको देखिन्छ। धुलो नियन्त्रणका लागि सडकमा नियमित रूपमा पानीसमेत नहाल्ने गरेको कारण आसपासका बासिन्दाले सास्ती खेप्नुपरेको गुनासो छ।

 

निर्माण कार्यमा भइरहेको ढिलाइका कारण स्थानीयस्तरमा चिन्ता र असन्तुष्टि बढ्दै गएको देखिन्छ। सम्बन्धित निकायले समयमै प्रभावकारी पहल नगरेमा समस्या अझ जटिल बन्न सक्ने तथा ठेकेदार पक्षले यस्तै लापरबाहीपूर्ण ढंगले काम गर्दै गएमा स्थानीयवासीहरू सडक बन्द गर्न बाध्य हुनेसमेत जानकारी दिइरहेका छन्। सरोकारवाला पक्षले पनि निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याएको छ।

 

स्थानीयवासीले सडकलाई शीघ्र सञ्चालनयोग्य बनाउन निर्माण कार्यलाई गति दिन, धुलो नियन्त्रणका लागि नियमित रूपमा पानी हाल्न तथा उक्त सडक निर्माणको काममा भएको ढिलाइका कारण उत्पन्न भएका समस्या समाधान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइरहेका छन्।

प्रकाशित मिति: २०२६-०६-०६ , समय : १७:०४:३६ , ३ घन्टा अगाडि