मिनाक्क्षी राई , १७ पटक हेरिएको
खोटाङ, ७ वैशाख । खोटाङमा आगामी वैशाख १९ गतेदेखि २२ गतेसम्म जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका – ३ छोरम्बुस्थित विर्खबहादुर खेल मैदानमा दुई लाख राशीको खुल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद एक लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, सेमिफाइनालिष्ट दुई टिमलाई २५/२५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारीदिनुभएको छ । विद्यागत पुरस्कारमा सर्वोत्कृष्ट हुने खेलाडी लाई नगद ५ हजार, वेष्ट स्पाईकर, वेष्ट सेटर, वेष्ट ब्लकर र वेष्ट लिब्रो हुने खेलाडीलाई जनही ३/३ हजार प्रदान गरिने जनाइएको छ । खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद एक हजार प्रदान गरिने बताइएको छ ।
गत वर्ष पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाइरहेको अवस्थामा बस्नेतको मृत्यु भएको प्रवक्ता बस्नेतले जानकारी दिनुभएको छ । जुनेश गाउँपालिकाकै अब्बल खेलाडी हुनुहुन्थ्यो उहाँले क्षेत्रीय तहसम्म खेल खेलेर पहिचान बनाउनुभएको थियो । प्रवक्ता बस्नेतका अनुसार जुनेश हामी बीच नरहे पनि उहाँले खेल क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मान र सम्झनामा हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ ।
गाउँपालिकाले खेलकुदको विकासमार्फत युवालाई सकारात्मक दिशामा अघि बढाउने उद्देश्यसहित विभिन्न प्रतियोगिताहरू सञ्चालन गराउँदै आइरहेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार स्थानीय खेलाडीहरूको योगदानको सम्मान गर्दै र नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यस्ता गतिविधिलाई निरन्तरता दिइएको हो ।
प्रकाशित मिति: २०२६-०४-२१ , समय : १४:२३:४२ , ४ घन्टा अगाडि