निरोज ढकाल , १५ पटक हेरिएको
पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको नकारात्मक प्रचार र छाडा टिप्पणीका कारण नेपाली सेना समेत प्रभावित बनेको छ । अनलाइन प्लेटफर्महरूमा बढ्दो आलोचना र आरोपले सेनाको छवि तथा मनोबलमा असर पार्न थालेको देखिएको छ ।
सर्वसाधारणले यस्ता नकारात्मक तथा अपमानजनक टिप्पणीविरुद्ध कानुनी उपचार खोज्न प्रहरीको साइबर ब्युरोमा उजुरी दिने गरे पनि धेरैजसोले यस्ता गतिविधिलाई बेवास्ता गर्न थालेका छन् । यसले सामाजिक सञ्जालमा अनियन्त्रित अभिव्यक्ति अझ बढ्दै गएको संकेत गरेको छ ।
गत शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि सो विषयमा आधारित समाचार सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । उक्त समाचारमा नेपाली सेनामाथि विभिन्न आक्षेपहरू लगाइएका थिए, जसले थप विवाद सिर्जना गर्यो ।
अनलाइनखबरले आफ्नो फेसबुक पेजमा प्रकाशित गरेको ‘ओली, लेखकसहित प्रधानसेनापति सिग्देल पनि जेन जी आन्दोलनका दोषी’ शीर्षकको समाचारमा सुभाष तामाङले प्रधानसेनापतिमाथि गम्भीर आरोप लगाएका थिए । उनले टिप्पणी गर्दै सिग्देललाई सबैभन्दा ठूलो दोषी ठहर गर्दै कडा सजायको माग समेत गरेका थिए ।
यसको प्रतिक्रिया स्वरूप नेपाली सेनाको आधिकारिक फेसबुक पेजबाट सुभाष तामाङलाई लक्षित गर्दै रोमन लिपिमा जवाफ दिइएको थियो—‘हेल्थ कण्डिसन ठीक छ तपाईँको ? चेक गर्नुपर्छ कि ।’ उक्त प्रतिक्रियाले प्रयोगकर्ताको मानसिक अवस्थामाथि प्रश्न उठाएको अर्थ लाग्ने भएकाले थप विवाद चर्किएको थियो ।
तर, उक्त प्रतिक्रिया सार्वजनिक भएको केही समयमै नेपाली सेनाले आफ्नो फेसबुक पेजबाट हटाएको छ । यस घटनाले सामाजिक सञ्जालमा संस्थागत प्रतिक्रिया दिने शैली र त्यसको प्रभावबारे नयाँ बहस सुरु गराएको छ ।
विश्लेषकहरूका अनुसार डिजिटल युगमा सार्वजनिक संस्थाहरूले सामाजिक सञ्जालमा दिने प्रतिक्रियामा अझ बढी संयमता र जिम्मेवारी आवश्यक देखिएको छ । लगातार बढ्दो अनलाइन आलोचनाबीच नेपाली सेनाले आफ्नो छवि व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती थपिएको छ ।
प्रकाशित मिति: २०२६-०३-२३ , समय : १३:१२:१२ , ३ घन्टा अगाडि