निरोज ढकाल , ८ पटक हेरिएको
एआईले १८ महिनाभित्रै सेतोपोश जागिरहरू कब्जा गर्ने चेतावनी — बैंकिङदेखि मार्केटिङसम्म जोखिममा मुस्तफा सुलेमान, जो Microsoft को एआई प्रमुख हुन्, ले निकट भविष्यमा कृत्रिम बुद्धिमत्ताले सेतोपोश (white-collar) काममा ठूलो प्रभाव पार्ने चेतावनी दिएका छन्। उनले Financial Times सँगको अन्तर्वार्तामा आगामी १२–१८ महिनाभित्र बैंकिङ, वित्त, बीमा, लेखा, जोखिम व्यवस्थापन, मार्केटिङ तथा परियोजना व्यवस्थापनजस्ता पेशागत क्षेत्रमा अधिकांश काम एआईद्वारा स्वचालित हुने बताएका छन्।
उनका अनुसार एआईले “मानवस्तरको प्रदर्शन” हासिल गर्न थालेपछि कम्प्युटरमा आधारित पेशागत कामहरू व्यापक रूपमा स्वचालित हुनेछन्। सफ्टवेयर इन्जिनियरिङमा यसको प्रभाव देखिन थालेको उल्लेख गर्दै उनले पछिल्लो ६ महिनामै कर्मचारीहरूले कोड उत्पादनको अधिकांश भाग एआई-सहयोगबाट गर्न थालेको बताएका छन्।
एआईको तीव्र विकासले रोजगारीको भविष्यबारे विश्वभर चिन्ता बढिरहेको छ। विगतमा नै वैज्ञानिक स्टीफन हकिङ र प्रविधि उद्यमी बिल गेट्स ले एआईको जोखिमबारे चेतावनी दिएका थिए भने एलन मस्क जस्ता उद्योगपतिहरू आफ्ना कम्पनीमा यसको प्रयोग तीव्र बनाइरहेका छन्।
हालै सार्वजनिक अध्ययनअनुसार ४४ प्रकारका पेशा एआईबाट प्रतिस्थापन हुने उच्च जोखिममा छन्। यस सूचीमा सफ्टवेयर डेभलपर, निजी अनुसन्धानकर्ता, सेल्स म्यानेजर, कम्प्लायन्स अफिसर, मेकानिकल इन्जिनियर र वकिलसमेत समावेश छन्। यद्यपि गेट्सले कोडर, ऊर्जा विशेषज्ञ र जीवविज्ञानी जस्ता क्षेत्रहरू भने केही समय सुरक्षित रहने बताएका छन्।
विशेषज्ञहरूका अनुसार डाटा प्रशोधन, प्रशासन, ग्राहक सेवा र उत्पादन लाइनका कामहरू सबैभन्दा पहिले एआईको प्रभावमा पर्ने सम्भावना छ। एआईले दैनिक जीवन सहज बनाउने फाइदा भए पनि सम्पूर्ण कार्यबल नै विस्थापित हुने डर बढ्दै गएको विश्लेषकहरूको निष्कर्ष छ।
प्रकाशित मिति: २०२६-०२-१४ , समय : १२:१६:०७ , ४ घन्टा अगाडि